काठमाडौंबाट धनगढी जानभन्दा दिल्ली जान सस्तो
काठमाडौं । काठमाडौंदेखि धनगढीको सडक दूरी ६६१ किलोमिटर मात्रै छ । देशकै सुगम गन्तव्यका रुपमा धनगढीलाई लिइन्छ । तर सडक दूरीको हिसाबमा झण्डै दोब्बर दूरीमा रहेको हवाईमार्गबाट भारतको राजधानी नयाँ दिल्ली पुग्नभन्दा धनगढी पुग्न महंगो भाडा पर्ने देखिएको छ ।
सडक दूरीका हिसाबले काठमाडौंबाट नयाँ दिल्ली १ हजार १३९ किलोमिटर टाढा छ । तर काठमाडौंबाट झण्डै आधा दूरीमा रहेको धनगढी हवाई मार्गबाट पुग्न महंगो भाडा तिर्नुपर्छ । यो नेपालका वायु सेवा प्रदायक कम्पनीले तय गरेको भाडादरका आधारमा निकालिएको निश्कर्ष हो ।
काठमाडौं–दिल्लीको रुटमा चल्ने एयरलाइन्सहरुले दुईतर्फी रुपमा तय गरेको भाडा दर मात्रै १६ हजार ९०० रुपैयाँ छ । तर काठमाडौंबाट धनगढी जान एकतर्फी भाडामात्रै १२ हजार ७०० रुपैयाँ पर्छ । यो अधिकतम भाडादर हो ।
त्यस्तै, काठमाडौंबाट दिल्ली जानका लागि नेपाल एयरलाइन्सले ८ हजार ८५४ रुपैयाँ कायम भाडा तोकेको छ । यसरी हेर्दा काठमाडौंबाट धनगढी जान दिल्ली जानुभन्दा ३ हजार ५४६ रुपैयाँ महंगो पर्न जान्छ ।
काठमाडौंबाट धनगढी गएर काठमाडौं फर्कनका लागि सोही आधारमा हिसाब गर्दा झण्डै २५ हजार रुपैयाँ पर्न जान्छ । यो रकम काठमाडौंबाट दिल्ली जानुभन्दा झण्डै ८ हजार रुपैयाँले बढी हो ।
एयरलाइन्सहरुले तय गरेको भाडादर हेरौं । काठमाडौंबाट धनगढी जानका लागि जनवरी १६ मा श्री एयरलाइन्सले १२ हजार ७०० रुपैयाँ एकतर्फी भाडादर कायम गरेको छ । जसमा इसेवाबाट टिकट काट्दा ३०० रुपैयाँ क्यास ब्याक आउँछ । जस अनुसार १२ हजार ४०० रुपैयाँ टिकटको मूल्य पर्न जान्छ ।
त्यस्तै, बुद्ध एयरको सोही मितिमा धनगढी जानका लागि १२ हजार ६५० रुपैयाँ टिकट तोकेको छ । इसेवाबाट टिकट काटदा २३१ रुपैयाँ क्यास ब्याक आउँछ जसले गर्दा टिकटको मूल्य १२ हजार ४१९ रुपैयाँ पर्न जान्छ ।