धोवीखोलामा बाजेबज्यै पार्क निर्माण गरिने, शहरी विकास मन्त्री बास्कोटाले गरे फाइल स्वीकृत
काठमाडौं । शहरी विकास मन्त्रालयले काठमाडौँको धोबीखोला किनारमा रहेको खाली जग्गामा ज्येष्ठ नागरिकलाई लक्षित गरेर ‘बाजेबज्यै पार्क’ निर्माण गर्ने भएको छ ।
सो मन्त्रालयकोसमेत कार्यभार सम्हालेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पदबहाली गर्दै चालू आवभित्रै पार्क निर्माणको प्रक्रिया अघि बढाउनेसम्बन्धी फाइल स्वीकृत गरे ।
नेपालमा यसप्रकारको पार्क पहिलो पटक बन्न लागेको हो । सो पार्क ज्ञान केन्द्रका रुपमा रहनेछ ।
‘कोही सुकुल वा कुनै सीप प्रयोग गरेर बस्न सक्छ, कोहीसँग अरु कुनै ज्ञान हुनुसक्छ, त्यो सीप र ज्ञान बाँड्ने थलो यही हुनेछ’ मन्त्री बाँस्कोटाले भने ।
नेपालमा अहिलेसम्म ज्येष्ठ नागरिकका लागि छुट्टै विश्रामस्थल नभएकाले ‘बाजेबज्यै पार्क’ निर्माण गर्न लागिएको उनको भनाइ छ ।
‘निर्माणका लागि हामीसँग जग्गा छ, अबका केही दिनमै निर्माण प्रक्रिया अघि बढाइनेछ,’ ‘उनले भने ।
शहरी क्षेत्रमा आमाबाबु दुवै व्यस्त हुँदा सन्तानको हेरचाहका लागि हेरचाह केन्द्र निर्माण गर्ने योजना रहेको मन्त्री बाँस्कोटाले बताए ।
युवायुवतीलाई मनोरञ्जनका लागि युवा लक्षित पार्क निर्माण गरिने उहाँले जानकारी दिए । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा युवा वर्गलाई नाँच्ने, गाउने गर्दै रमाइलो गर्न पार्क निर्माण गर्न लागिएको बताए । खुला रङ्गमञ्चका रुपमा निर्माण हुने पार्कमा युवा एकअर्कामा अन्तरघुलित हुने उनको विश्वास छ ।
‘अहिले युवा एकअर्कालाई फेसबुक र ट्वीटरमार्फत चिने पनि त्यो मान्छेको स्वर कस्तो छ समेत थाहा छैन त्यो हटाउन पनि यो पार्कको महत्व छ,’ उनले भने ।
मन्त्री बाँस्कोटाले विभिन्न जिल्लामा एकीकृत बस्ती निर्माणका लागि प्राप्त अध्ययन प्रतिवेदन पनि स्वीकृत गरे ।
उनले विकासका लागि लाग्ने लागत कम गर्न एकीकृत बस्तीको महत्व रहेको जनाए । उनले लक्षित वर्गका लागि विभिन्न स्थानमा पार्क निर्माण गरिने बताए । सो अवसरमा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, सचिव मधुसुदन अधिकारीलगायत मन्त्रालय र मन्त्रालय अन्तर्गतका निकायका कर्मचारी सहभागी थिए ।