मेटाले ल्याउँदैछ आफ्नै ‘भविष्यवाणी गर्ने’ एप


एजेन्सी । फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाका मालिक मार्क जुकरबर्गले अब एउटा नयाँ ‘प्रेडिक्सन मार्केट’ एप बनाउन निर्देशन दिएका छन् । यस एपको भित्री नाम ‘एरिना’ राखिएको छ ।

यो एपमा प्रयोगकर्ताहरूले भविष्यमा हुने विभिन्न घटनाहरूको बारेमा अनुमान वा भविष्यवाणी गर्न सक्नेछन् । उदाहरणका लागि, आगामी चुनाव कसले जित्ला, कुन खेलमा कुन टिम विजयी होला वा कुन फिल्मले कति कमाउला भन्ने जस्ता विषयमा मानिसहरूले आफ्नो दाबी प्रस्तुत गर्न पाउनेछन् ।

सुरुवातमा यो एप फेसबुक र इन्स्टाग्रामभन्दा छुट्टै एउटा स्वतन्त्र एपका रूपमा आउनेछ ।

यसमा तत्कालै वास्तविक पैसाको प्रयोग नभई भिडियो गेममा जस्तै ‘प्वाइन्ट्स’को माध्यमबाट भविष्यवाणी गर्न सकिने व्यवस्था मिलाइनेछ । तर भविष्यमा यसलाई अझ विस्तार गरेर वास्तविक पैसाकै बाजी राख्न मिल्ने बनाउन सकिने सम्भावना पनि रहेको छ। जुकरबर्गले यो कदम हाल विश्वबजारमा लोकप्रिय बनिरहेका ‘पोलिमार्केट’ र ‘काल्सी’ जस्ता एपहरूसँग प्रतिस्पर्धा गर्नका लागि चालेका हुन् ।