
काठमाडौँ । काठमाडौँको मुटु मानिने दरबारमार्गको रौनक फेरि एकपटक फर्कने भएको छ ।
आगामी शनिबार १९औँ संस्करणको ‘दरबारमार्ग स्ट्रिट फेस्टिबल’ आयोजना हुने भएको छ ।
यस वर्षको उत्सवलाई ‘एक्सट्रीम इनर्जी ड्रिङ्क’ को मुख्य प्रायोजनमा ‘एक्सट्रीम स्याटर्डे’ का रूपमा अझ ऊर्जावान् बनाइने आयोजकले जनाएका छन्।
दरबारमार्ग विकास बोर्डको पहलमा माभरिक्स ग्रुप र आर्बिट्ररी इभेन्ट्सद्वारा आयोजित यस महोत्सवले सबै उमेर समूहका दर्शकलाई भरपुर मनोरञ्जन दिने लक्ष्य राखेको छ। हरेक वर्ष झैँ यसपटक पनि सर्वसाधारणले स्ट्रिट फेस्टिबलको नि:शुल्क मजा लिन पाउनेछन् ।
महोत्सवका मुख्य आकर्षणहरूमा पारिवारिक मनोरञ्जनका लागि बालबालिकाका विभिन्न खेलहरू, बास्केटबल, इ-स्पोर्ट्स र सांस्कृतिक झाँकीहरू रहनेछन् ।
युवापुस्तालाई लक्षित गरी कोस्प्ले र फोटो बुथहरूको समेत व्यवस्था गरिएको छ । साथै, विभिन्न स्वादका खानाका स्टलहरू र रिफ्रेसिङ पेय पदार्थहरू महोत्सवको अर्को आकर्षण रहनेछन्। साङ्गीतिक माहोललाई तताउन मुख्य स्टेजका साथै सहायक स्टेजमा डिजेहरूको धमाकेदार प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन्।
यस पटकको साङ्गीतिक कार्यक्रममा चर्चित कलाकार तथा ब्याण्डहरूको बाक्लो उपस्थिति रहनेछ ।
महोत्सवमा जोन एण्ड द लोकल्स, द एक्स, फोल्कट्रोनिक्स, एस टी म्यान, जे अथर, सालिन मगर एण्ड ब्याण्ड, प्रिजोल नेपाली एण्ड सरर र गन एल्विस जस्ता लोकप्रिय कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। कार्यक्रमको सञ्चालन प्रस्तोताहरू रेमन दास श्रेष्ठ, रुबिका श्रेष्ठ, सुदित श्रेष्ठ र सलिना महर्जनले गर्नेछन् ।
काठमाडौँको सांस्कृतिक र पर्यटकीय पहिचान बनिसकेको दरबारमार्ग स्ट्रिट फेस्टिबलले एकता र खुसी साटासाट गर्ने माध्यम प्रदान गर्दै आएको छ । ‘एक्सट्रीम इनर्जी ड्रिङ्क’ को साथले यस वर्षको महोत्सव अहिलेसम्मकै सबैभन्दा उत्साहजनक र यादगार हुने विश्वास आयोजकले लिएका छन्।





प्रतिक्रिया