मुक्तिनाथ विकास बैंकले विभिन्न संस्थालाई सहयोग गर्‍यो ह्वीलचेयर

42
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विभिन्न संस्थाहरूलाई २० वटा ह्वीलचेयर सहयोग गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवा सहज बनाउन, समावेशीतालाई प्रवद्र्धन गर्न तथा दिगो विकास लक्ष्य (एसडीजीस्‌) प्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै यो सहयोग गरेको जनाएको छ ।

यस कार्यक्रम अन्तर्गत बैंकले धनगढी—०१,कैलाली स्थित सेती प्रादेशिक अस्पताल लाई १० थान व्हीलचेयर हस्तान्तरण गरेको छ ।

यो सहयोगले अस्पतालमा उपचारका लागि आउने तत्काल बिरामी, ज्येष्ठ नागरिक तथा हिँडडुलमा कठिनाइ भएका सेवाग्राहीहरूलाई अस्पताल परिसरभित्र सहज र सुरक्षित रूपमा आवतजावत गर्न सहयोग पुग्ने अपेक्षा लिएको बैंकले जनाएको छ ।

यसले स्वास्थ्य सेवामा पहुँचलाई थप सहज बनाउँदै सेवाग्राहीमैत्री वातावरण निर्माणमा समेत योगदान पुर्‍याउने बैंकको भनाइ छ ।

त्यसैगरी, बैंकले गोकर्णेश्वर स्थित युवा अपाङ्ग संगठन नेपाललाई पनि १० थान व्हीलचेयर सहयोग प्रदान गरेको छ ।

यो सहयोगले आवश्यकता भएका फरक क्षमता भएका व्यक्तिहरूलाई आवश्यक समयमा सहयोग पुर्‍याउनुका साथै उनीहरूको सम्मानपूर्ण, सहज तथा समावेशी जीवनयापनमा सकारात्मक योगदान पुग्ने बैंकको विश्वास छ ।