ट्रम्पसँगै १७ अमेरिकी सीईओ किन पुगेका हुन् चीन ?

91
Shares


एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग १७ वटा ठूला अमेरिकी कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत पनि बेइजिङ पुगेका छन् ।

त्यहाँँ चीनका राष्ट्रपति सी चिनपिङले उनीहरूलाई आफ्नो देश विदेशी लगानीका लागि खुला रहेको सन्देश दिएका छन् ।

यस अर्थमा ट्रम्पको चीन भ्रमण विगतका कूटनीतिक भ्रमणहरूभन्दा बिल्कुलै फरक र रणनीतिक किसिमको रह्यो ।

सामान्यतया कुनै राष्ट्रप्रमुख अर्को देशको भ्रमणमा जाँदा कूटनीतिकर्मी, विदेशनीति सल्लाहकार र राष्ट्रिय सुरक्षा अधिकारीहरूको लावालस्कर लिएर जान्छन् ।

तर, ट्रम्पले बेइजिङको धर्तीमा पाइला टेक्दा उहाँको साथमा १७ जना यस्ता व्यक्तिहरू छन् जसले विश्वको निजी क्षेत्र र पुँजी बजारलाई नियन्त्रण गर्छन् ।

एप्पलका टिम कुक, टेस्ला र स्पेसएक्सका इलोन मस्क, १०० खर्ब डलरको सम्पत्ति व्यवस्थापन गर्ने ब्ल्याकरकका ल्यारी फिंक र जेपी मोर्गनका जेमी डिमोन जस्ता शक्तिशाली सीईओहरू ट्रम्पको टोलीमा हुनु संयोग मात्र थिएन ।

यो एउटा ठूलो नेगोसिएसन थियो जहाँ यी १७ सीईओहरूलाई ट्रम्पले चीनका लागि लेभरेज (प्रभाव पार्ने माध्यम) को रूपमा प्रस्तुत गरेका थिए ।

विश्वको इतिहासमा शायदै कुनै राष्ट्रपतिको टोली यति धेरै आर्थिक शक्तिले भरिएको होला । ट्रम्पले बेइजिङमा कूटनीतिकर्मीहरू भन्दा पनि प्रविधि, अर्थ, एयरोस्पेस र ऊर्जा क्षेत्रका दिग्गजहरूलाई उतारेका छन् ।

मेटा, बोइङ र कारगिल जस्ता कम्पनीका प्रमुखहरूको उपस्थिति हुनुको अर्थ स्पष्ट छ । ट्रम्प चीनसँग केवल शब्दको लडाइँ मात्र लड्न चाहँदैनन् । उनी चीनलाई यस्तो प्रस्ताव गरिरहेका छन् जुन अस्वीकार गर्न बेइजिङका लागि निकै कठिन छ ।

कुनै राष्ट्रप्रमुखले विश्वका सबैभन्दा शक्तिशाली निजी क्षेत्रका नेताहरूलाई विदेशी राजधानीमा लैजान्छ भने उनीहरूको उपस्थितिले नै सन्देश दिइरहेको हुन्छ । यो सन्देश थियो— अमेरिका व्यापारिक लगानीको ढोका खोल्न तयार छ, तर त्यसको बदलामा चीनले पनि सदाशय देखाउनुपर्छ ।

चीन अहिले यस्तो अवस्थामा छ जहाँ उसको आर्थिक चमत्कारको गति सुस्त हुँदै गएको छ । सन् २०२५ को अन्त्यसम्ममा चीनको वास्तविक जीडीपी वृद्धि दर १ प्रतिशतको हाराहारीमा खुम्चिएको छ । चीनको अर्थतन्त्रका आधारभूत स्तम्भहरू हल्लिएका छन् ।

चीनको अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने रियल इस्टेट क्षेत्र ध्वस्त भएको छ । चिनियाँ जनताको खर्च गर्ने क्षमता र आत्मविश्वास दशकौंयताकै न्यून बिन्दुमा छ । शिक्षित युवाहरूमा बढ्दो बेरोजगारीले सामाजिक असन्तोष निम्त्याउने खतरा बढेको छ । निर्यात मूल्यमा आएको ह्रासले उत्पादन क्षेत्रलाई थला पारेको छ ।

चीनलाई आफ्नो वृद्धिदर पुनः सुचारु गर्न जसरी पनि विदेशी लगानी र प्रविधि आवश्यक छ । बेइजिङको ग्रेट हल अफ द पिपुलमा पुगेका अमेरिकी सीईओहरूसँगै चीनले खोजेको समाधान छ । अमेरिकी लगानी, एप्पलको उत्पादन साझेदारी, टेस्लाको अत्याधुनिक प्रविधि, ब्ल्याकरकको विश्वव्यापी पुँजी बजारमा पहुँच र जेपी मोर्गनको वित्तीय पूर्वाधार उनीहरूसँगै छ ।

चीनले आफ्नो आन्तरिक प्रयासबाट मात्र यी कुराहरू प्राप्त गर्न सक्दैन । उसले यसका लागि वार्ता गर्नैपर्ने हुन्छ र ट्रम्पले ती सबै समाधानहरूलाई एकैपटक बेइजिङको ढोकामा पुर्याइदिएका छन् ।

यस वार्ताको अर्को पाटो अझ रोचक र सैन्य रणनीतिको गहिराइसँग जोडिएको छ । धेरैलाई लाग्न सक्छ, ट्रम्प केवल व्यापारका लागि चीन गएका हुन् । तर, ट्रम्पलाई एउटा कुरा मात्र चाहिएको छ । त्यो के भने चीनले इरानलाई सहयोग गर्न बन्द गरोस् ।

इरानसँग मिसाइल, ड्रोन र क्रुज मिसाइलहरू त छन्, तर बाह्य गुप्तचर जानकारी बिना इरानलाई ती हतियारहरू कहाँ प्रहार गर्ने भन्ने थाहा हुँदैन । अमेरिकी गुप्तचर निकायहरूको दाबी अनुसार, अरब सागरमा रहेका चिनियाँ जहाजहरूले इरानी सेनालाई वास्तविक समयको रेडार र स्याटेलाइट डेटा उपलब्ध गराइरहेका छन् ।

इरानी सैन्य प्रभावकारिता इरानको आफ्नै होइन । यो त चिनियाँ आँखा र रुसी दिमाग उपयोग गरेर चलाइएका इरानी हतियारहरू हुन् ।

चीनले इरानलाई दिइरहेको त्यो इन्टेलिजेन्सको तार काटिदिने हो भने इरान अन्धो भएर लड्नुपर्नेछ । ट्रम्पले यो तार धम्की दिएर काट्न सक्दैनन् । चीनले यसअघि नै १४५ प्रतिशतको भन्सार शुल्क, प्रविधि प्रतिबन्ध र विभिन्न क्षेत्रमा लगाइएका नाकाबन्दीहरू झेलिसकेको छ । त्यसले बेइजिङलाई टसको मस बनाउन सकेन ।

तर, एप्पलका सीईओ टिम कुकले बेइजिङमा उभिएर चीनमा एप्पलको उत्पादन क्षमतालाई अर्बौं डलरले विस्तार गर्ने प्रस्ताव गर्दा बेइजिङको मनस्थिति बदलिन्छ । १७ जना सीईओहरूको उपस्थिति नै चीनका लागि सबैभन्दा ठूलो प्रलोभन र ट्रम्पका लागि सबैभन्दा ठूलो लेभरेज हो ।

कुनै पनि ठूलो सम्झौता सित्तैमा हुँदैन । चीन संसारकै सबैभन्दा चतुर लेनदेनमुखी राज्य हो । उसले १७ सीईओहरूको लगानी स्वीकार्नुअघि पक्कै पनि आफ्नो शर्त राख्नेछ ।

एसियाली राष्ट्रहरू, विशेष गरी ताइवान, अहिले निकै चिन्तित छन् । ट्रम्पले चीनसँग राम्रो आर्थिक सम्बन्धका लागि ताइवानको सुरक्षा प्रतिबद्धतालाई बार्गेनिङ चिप बनाउन सक्ने उनीहरूलाई डर छ ।

यो शिखर सम्मेलन अघि नै ट्रम्प प्रशासनले ताइवानलाई दिने भनिएको ठूलो हतियार बिक्रीको प्रक्रियालाई महिनौंसम्म रोकेर राखेको छ । कुन चिपको मूल्य सबैभन्दा बढी छ भन्ने कुरा दुवै पक्षलाई थाहा छ । चीनलाई लगानी, प्रविधि पहुँच र भन्सारमा छुट चाहिएको छ । यसको बदलामा उसले ताइवानको मुद्दामा अमेरिकाबाट लचकता खोज्नेछ ।

यस भ्रमणमा सबैको नजरबाट ओझेलमा परेका अर्का पात्र हुन् रुसका विदेशमन्त्री सर्गेई लाभरोभ । ट्रम्प बेइजिङ पुगेको २४ घण्टाभित्रै लाभरोभ पनि त्यहाँ पुग्नु कुनै संयोग होइन । भ्लादिमिर पुटिन स्वयं त्यहाँ नभए पनि उनका सबैभन्दा वरिष्ठ कूटनीतिकर्मी उपस्थित हुनुले के संकेत गर्छ भने रुस यो वार्ताको हरेक सूक्ष्म विवरणमा चासो राखिरहेको छ ।

पुटिनको सन्देश स्पष्ट छः ‘युक्रेनमा खुकुलो हुनुहोस्, हामी इरानमा खुकुलो हुन्छौं ।’ यो प्रस्ताव ट्रम्पले पहिले अस्वीकार गरेका थिए तर अहिले बेइजिङमा सी चिनपिङ साक्षी र ग्यारेन्टरको रूपमा बस्दा यो सम्झौता पुनः जीवित हुन सक्छ ।

डोनल्ड ट्रम्प र सी चिनपिङबीचको यो शिखर सम्मेलन दुई देशको सम्बन्ध सुधारको प्रयास मात्र होइन । यो विश्व व्यवस्थाको नयाँ परिभाषा लेख्ने प्रयास हो । ट्रम्पले १७ सीईओहरूलाई उपहारको रूपमा ल्याएर चीनको आर्थिक संकटलाई आफ्नो राजनीतिक र सैन्य लाभमा बदल्ने प्रयास गरेका छन् ।

चीनले इरानलाई दिँदै आएको गुप्तचर सहयोग बन्द गर्छ र बदलामा अमेरिकाले चीनमा अर्बौं डलरको लगानी र ताइवान मुद्दामा केही सहुलियत दिन्छ भने यसले विश्व भूराजनीतिमा ठूलो उथलपुथल ल्याउनेछ । ट्रम्पको यो व्यापारिक कूटनीति सफल भएमा उनले इरानलाई कमजोर बनाउनेछन् तर यसका लागि ताइवान र युक्रेन जस्ता मित्रराष्ट्रहरूले कस्तो मूल्य चुकाउनुपर्ने हो त्यो भने भविष्यकै गर्भमा छ ।

बेइजिङमा भइरहेको यो उच्चस्तरीय दाउपेचले आगामी दशकको विश्व राजनीतिको दिशा तय गर्ने निश्चित छ ।