लिपुलेकको बाटो हुँदै मानसरोवर यात्रा गराउने भारतको पहल

112
Shares

एजेन्सी । हिन्दू, बौद्ध, जैन र बोन धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने पवित्र कैलाश मानसरोवर यात्रा नेपालको भूमि लिपुलेकबाट पनि सुरु हुने भएको छ ।

भारत सरकारको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै जनवादी गणतन्त्र चीनको सरकारसँगको समन्वयमा सन् २०२६ को यात्रा तालिका र निवेदन प्रक्रिया सार्वजनिक गरेको हो ।

मन्त्रालयका अनुसार, यस वर्षको यात्रा मुख्य दुईवटा मार्गबाट सञ्चालन गरिनेछ । पहिलो मार्ग उत्तराखण्ड राज्यको धार्चुला हुँदै नेपालको लिपुलेक भञ्ज्याङ भएर जानेछ भने दोस्रो मार्ग सिक्किम राज्यको नाथुला भञ्ज्याङ भएर जानेछ ।

लिपुलेख मार्ग नेपाल, भारत र चीनको त्रिदेशीय सीमाविन्दु नजिक रहेकाले सधैं चर्चा र प्राथमिकतामा रहने गर्छ ।

यस वर्ष प्रत्येक मार्गबाट १०–१० वटा टोलीहरू पठाइने तय गरिएको छ । एक टोलीमा ५० जना यात्री रहने गरी कुल १ हजारजनाले यस वर्ष सरकारी तवरबाट कैलाश मानसरोवरको दर्शन गर्न पाउनेछन् । यात्रा जुन महिनामा सुरु भई अगस्टसम्म चल्नेछ ।

भारतको विदेश मन्त्रालयले यस वर्षको निवेदन र छनौट प्रक्रियालाई पूर्ण रूपमा प्रविधिमैत्री र पारदर्शी बनाएको छ । इच्छुक आवेदकहरूले आधिकारिक वेबसाइट फथ.नयख.ष्ल मार्फत अनलाइन निवेदन दिनुपर्नेछ ।

छनौट प्रक्रियामा कुनै पनि मानवीय हस्तक्षेप नहुने गरी कम्प्युटर प्रणालीबाट र्यान्डम पद्धतिद्वारा यात्रीहरू छानिनेछन् । यस प्रक्रियामा लैंगिक सन्तुलनलाई समेत विशेष ध्यान दिइने मन्त्रालयले स्पष्ट पारेको छ ।

निवेदकहरूले दुवै मार्गको प्राथमिकता तोक्न पाउनेछन् वा आफ्नो अनुकूलता अनुसार कुनै एउटा मार्ग मात्र पनि रोज्न सक्नेछन् । अनलाइन दर्ताका लागि अन्तिम मिति आगामी १९ मेसम्म तोकिएको छ ।

कैलाश मानसरोवर यात्रा नेपालको हुम्ला, रसुवा र सिन्धुपाल्चोक हुँदै पनि ठूलो संख्यामा हुने गर्छ । तर, भारत सरकारले आयोजना गर्ने यो आधिकारिक यात्रा लिपुलेक र नाथुला मार्गमा केन्द्रित रहन्छ ।

नेपालको लिपुलेक मार्ग अहिले भारतको अधीनमा छ । त्यहाँ भइरहेको सडक विस्तारले यस क्षेत्रको पर्यटकीय र सामरिक महत्त्वलाई थप उजागर गरेको छ । नेपालले लिपुलेकलाई समेटेर चुच्चे नक्सा जारी गरेको छ ।