
एजेन्सी । एक्सियस सञ्चारमाध्यमको एक रिपोर्ट अनुसार, आणविक वार्तामा देखिएको गतिरोध अन्त्य गर्ने उद्देश्यले अमेरिकी सेन्ट्रल कमान्डले इरानका मुख्य पूर्वाधारहरूलाई लक्षित गरी छोटो र शक्तिशाली आक्रमणको योजना तयार पारेको छ ।
आन्तरिक छलफलको जानकारी भएका स्रोतहरूलाई उद्धृत गर्दै रिपोर्टमा भनिएअनुसार, यस योजनालाई कूटनीतिक प्रयासहरू सफल नभएमा प्रयोग गर्न सकिने एक सीमित तर सशक्त सैन्य विकल्पको रूपमा तयार गरिएको हो ।
यी आक्रमणहरू पश्चात् तेहरानलाई वार्ताको टेबुलमा फर्कन र आफ्नो आणविक कार्यक्रमका सम्बन्धमा अमेरिकी मागहरूमा थप लचकता देखाउन दबाब दिने रणनीति बनाइएको छ ।
तर, राष्ट्रपति डोनल्ड ट्रम्पले हालसम्म यस्तो सैन्य कारबाहीको अनुमति दिएका छैनन् । मंगलबार रातिसम्म कुनै पनि सक्रिय सैन्य कदमको आदेश दिइएको छैन र ट्रम्प प्रशासनले इरानविरुद्ध मुख्य हतियारको रूपमा जलसैनिक नाकाबन्दीलाई नै प्राथमिकता दिइरहेको छ ।
एक्सियससँगको अन्तर्वार्तामा ट्रम्पले तत्काल सैन्य मुठभेड भन्दा नाकाबन्दीलाई बढी प्रभावकारी ठानेको संकेत दिएका छन् । उनले भने, ‘बमबारी भन्दा नाकाबन्दी केही हदसम्म बढी प्रभावकारी छ ।’ इरानले तेल निर्यात गर्न संघर्ष गरिरहेकाले ऊ बढ्दो आर्थिक दबाबमा रहेको उनले थपे ।
रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलयोजकको वरिपरि केन्द्रित यो नाकाबन्दी विवादको मुख्य बिन्दु बनेको छ । रिपोर्टका अनुसार, इरानले आणविक वार्ता पुनः सुरु गर्नुअघि यो जलमार्ग खोल्न र तनाव कम गर्न प्रस्ताव गरेको छ तर अमेरिकाले प्रक्रियालाई त्यसरी अगाडि बढाउन अस्वीकार गरेको छ ।
ट्रम्पले अमेरिकी सञ्चारमाध्यमलाई वार्ता अझै जारी रहेको बताए तर कुनै पनि सम्झौता इरानले आणविक हतियारको महत्त्वाकांक्षा पूर्ण रूपमा त्याग्ने कुरामा निर्भर हुने स्पष्ट पारे । इरानले नाकाबन्दीको दबाब कम गर्न सम्झौता खोजिरहेको भए पनि ठोस ग्यारेन्टी बिना सहुलियत दिन उनी अनिच्छुक देखिएका छन् ।
यसैबीच इरानी अधिकारीहरूले वाशिङटनको यस अडानको विरोध गरेका छन् । सरकारी मिडियाले उद्धृत गरेको एक वरिष्ठ इरानी सुरक्षा स्रोतले चेतावनी दिँदै नाकाबन्दी जारी रहेमा व्यावहारिक र अभूतपूर्व कदम चालिने चेतावनी दिएको छ । साथै, इरानले हालसम्म कूटनीतिक बाटो खुला राख्न संयम अपनाएको दाबी पनि उनले गरे ।
बढ्दो तनावको बीचमा ट्रम्पले बुधबार अबेर आफ्नो ट्रूथ सोसल खातामा हर्मुज जलयोजकको नाम परिवर्तन गरी स्ट्रेट अफ ट्रम्प राख्ने प्रस्ताव सहितको एउटा पोस्ट साझा गरे । उक्त पोस्टमा यस प्रमुख जलमार्गलाई नयाँ नाम दिइएको नक्सा पनि समावेश थियो ।
यस पोस्टले विश्वकै सबैभन्दा संवेदनशील जलमार्गहरू मध्ये एकलाई प्रतीकात्मक रूपमा पुनः नामकरण गर्न खोजेको देखिन्छ । यस साँघुरो जलमार्गले पर्सियाली खाडीलाई ओमानको खाडीसँग जोड्छ र विश्वको कच्चा तेल ढुवानीको ठूलो हिस्सा यहीँबाट हुन्छ ।
भूराजनीतिक तनाव बढिरहेका बेला ट्रम्पले यसअघि पनि सांकेतिक रूपमा नाम परिवर्तन गर्ने संकेत दिएका थिए ।
हर्मुज जलयोजक लामो समयदेखि विश्वव्यापी ऊर्जा सुरक्षाको केन्द्र र अमेरिका–इरान सम्बन्धमा विवादको मुख्य कारण रहँदै आएको छ ।
बढ्दो अनिश्चितताको असर बजारमा पनि देखिएको छ । इरानी निर्यातमा अमेरिकी नाकाबन्दी लम्बिने चिन्ता र आणविक वार्तामा देखिएको अवरोधका कारण बिहीबार तेलको मूल्य बढ्यो । ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारल १२० डलर पुगेको छ । यो सन् २०२२ को मध्यपछिकै उच्च विन्दु हो ।









प्रतिक्रिया