अमेरिका : क्यालिफोर्नियाले सम्पत्ति कर लगाउने भएपछि धनाढ्यहरू चिन्तित

119
Shares

एजेन्सी । क्यालिफोर्नियामा भूतप्रभावी सम्पत्ति करको पक्षमा महिनौंदेखि चल्दै आएको अभियान अर्को चरणमा प्रवेश गरेको छ ।

सर्भिस इम्प्लोईज इन्टरनेशनल युनियन–युनाइटेड हेल्थकेयर वर्कर्स वेस्टले १५ लाख ५० हजारभन्दा बढी हस्ताक्षर संकलन गरेको एक प्रेस विज्ञप्तिमार्फत जनाएको छ । यो क्यालिफोर्नियाको निर्वाचन मतपत्रमा अर्बपतिहरूको सम्पत्तिमा एकपटकका लागि कर लगाउने विषय समावेश गर्न आवश्यक ८ लाख ७५ हजार हस्ताक्षरको झन्डै दोब्बर हो ।

क्यालिफोर्निया अर्बपति कर ऐनले करिब २०० बासिन्दाको कुल सम्पत्तिलाई लक्षित गर्नेछ र १ अर्ब डलरभन्दा बढी सम्पत्ति भएका क्यालिफोर्नियाका बासिन्दाहरूको कुल सम्पत्तिमा एकपटकका लागि ५ प्रतिशत कर लगाउनेछ । लेजिस्लेटिभ एनालिस्ट अफिसका अनुसार, यो कर सन् २०२७ मा तिर्नुपर्नेछ र करदाताहरूले ब्याजसहित पाँच वर्षभित्र किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् ।

यो प्रस्ताव नोभेम्बरमा मतदाताहरूले अनुमोदन गरेमा प्रस्ताव अनुसार १ जनवरी २०२६ मा क्यालिफोर्नियाको बासिन्दा रहेका जो कोहीले यो कर तिर्नुपर्ने हुन्छ । व्यावहारिक रूपमा भन्नुपर्दा उक्त मितिमा २० अर्ब डलर कुल सम्पत्ति भएको बासिन्दाले १ अर्ब डलर कर तिर्नुपर्ने हुन्छ र त्यसलाई पाँच वर्षमा भुक्तानी गर्न सकिनेछ ।

समर्थकहरूले यो कर गत वर्ष ट्रम्प प्रशासनले मेडिकेड र अन्य संघीय स्वास्थ्य बीमा कार्यक्रमहरूमा गरेको कटौतीको प्रत्यक्ष जवाफ भएको तर्क गरेका छन् ।

‘अधिकांश क्यालिफोर्नियाली र धेरै अर्बपतिहरूले यो प्रस्ताव कति उचित र आवश्यक छ भन्ने कुरा बुझेका छन् । आकस्मिक कक्षहरू खुला राख्न र क्यालिफोर्नियाका व्यवसायहरू बन्द हुनबाट जोगाउन यो कर आवश्यक छ,’ एसईआईयू–यूएचडब्ल्यूकी प्रमुख कर्मचारी सुजेन हिमेनेजले एक प्रेस विज्ञप्तिमा भनिन् ।

उनले थप भनिन्, ‘विश्वका सबैभन्दा विवादास्पद केही अर्बपतिहरूको सानो समूहले क्यालिफोर्नियालीहरूलाई आफ्ना स्थानीय अस्पतालहरू जोगाउनबाट रोक्ने प्रयास गरे तर हाम्रो हस्ताक्षरको संख्याले प्रमाणित गर्छ कि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरू यस प्रस्तावलाई मतदातामाझ लैजान सफल हुनेछन् ।’

यस प्रस्तावका विरोधीहरूले भने यस करका कारण आगामी २० वर्षमा करिब १ लाख ८ हजार उच्च तलब हुने रोजगारीहरू गुम्न सक्ने चेतावनी दिएका छन्, न्युयोर्क टाइम्सले आइतबार रिपोर्ट गरेको छ । डेमोक्रेटिक गभर्नर गेभिन न्युज्यामले समेत राज्यको प्रस्तावित सम्पत्ति कर खराब अर्थशास्त्र भएको स्वीकार गरेका छन् । उनले क्यालिफोर्नियाका केही धनी बासिन्दाहरूले आफ्नो पैसा र व्यवसाय राज्यबाहिर सारेको रिपोर्टहरू आएपछि यस प्रस्तावको विरोध गर्नु सही भएको महसुस गरेको बताएका छन् ।
यस कदमले अर्थतन्त्रलाई क्षति पुर्याउने र लगानीलाई भगाउने उनले चेतावनी दिएका छन् ।

लेजिस्लेटिभ एनालिस्ट अफिसले सुरुमा नगद प्रवाहमा अस्थायी वृद्धि हुने भविष्यवाणी गरे पनि अर्बपतिहरूले राज्य छोड्ने भएकाले राज्यको आयकर राजस्वमा वार्षिक करोडौं डलरको कमी आउन सक्ने चेतावनी दिएको छ ।

१ जनवरीको भूतप्रभावी करको समयसीमा अगावै क्यालिफोर्नियाबाट आफ्नो निवास वा व्यवसाय सार्ने केही चर्चित व्यक्तिहरूमा गुगलका सह–संस्थापक ल्यारी पेज र सर्गेई ब्रिन, मेटाका मार्क जकरबर्ग, पिटर थिल, स्टिभन स्पिलबर्ग, उबरका ट्राभिस कालानिक र कार लोनका दिग्गज डोन ह्यान्की रहेका छन् ।