
एजेन्सी । भारतको केन्द्र सरकारका मन्त्री ज्योतिरादित्य सिन्धियाले अत्यधिक गर्मीमा पनि आफू एयरकन्डिसन (एसी) बाट टाढै रहने बताएका छन् ।
यसलाई उनले चम्बलको छाला भएको बताएका छन् र मानिसहरूलाई गर्मीबाट बच्न परम्परागत उपायको रूपमा गोजीमा प्याज राख्न सल्लाह दिएका छन् ।
आइतबार शिवपुरीमा जनतालाई सम्बोधन गर्दै सिन्धियाले भने, ‘म मेरो गाडीमा एसी चलाउदिनँ, न त एसी भएको वातावरणमा बस्छु । मे र जुन महिनाको ५१ डिग्रीको गर्मीमा पनि मानिसहरूले मलाई सोध्दा म भन्छु, ‘यो चम्बलको छाला हो ।’
‘अनि म तपाईंहरूलाई अर्को कुरा पनि भन्छुः म हेर्दा अलि जवान देखिन्छु होला तर मेरो आत्मा निकै पुरानो छ । आफ्नो खल्तीमा एउटा प्याज राख्नुहोस्,’ उनले थपे ।
‘तपाईंलाई केही हुने छैन । र आजको समयमा सबैजना उपकरणहरू बोकिरहेका छन् । सञ्चारमन्त्री चाहिँ प्याज बोकिरहेका छन् । यी पुराना कुराहरू हुन् । आयुर्वेदको विकाससँगै हामीले यी कुराहरू बिर्सनु हुँदैन,’ उनले भने ।
यसैबीच आइतबार भारतीय मौसम विज्ञान विभागले देशका विभिन्न भागहरूमा तातो हावा (लु) चल्ने चेतावनी दिएको छ ।
आईएमडीले पश्चिमी हिमालय क्षेत्र र उत्तरपूर्वी भारत (जहाँ तापक्रम ३६ डिग्री सेल्सियसभन्दा कम छ) बाहेक देशका अधिकांश भागमा अधिकतम तापक्रम ४० देखि ४६ डिग्री सेल्सियसको बीचमा रहेको जनाएको छ ।
मौसम विभागले अप्रिल २६ र २७ मा जम्मु र कश्मीरका केही स्थानहरूका साथै पन्जाब, हरियाणा, चण्डीगढ, उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेश, बिहार र गुजरातमा तातो हावा चल्ने उच्च सम्भावना रहेको बताएको छ । छत्तीसगढका केही भागमा अप्रिल २८ सम्म यस्तै अवस्था रहने अपेक्षा गरिएको छ ।









प्रतिक्रिया