
एजेन्सी । कुनै समय भारतको सेयर बजारमा स्थिर प्रतिफल दिने कम्पनीको रूपमा हेरिने इन्फोसिसले अहिले लगानीकर्ताहरूबाट कडा समीक्षाको सामना गरिरहेको छ ।
यस वर्ष कम्पनीले आफ्नो बजार मूल्यमा २ लाख करोड भारुभन्दा बढी गुमाएको छ र भारतका १० सर्वाधिक मूल्यवान कम्पनीहरूको सूचीबाट बाहिरिएको छ । यसले वृद्धि सुनिश्चितता, ग्राहक खर्च र कृत्रिम बुद्धिमत्ता (एआई) को दीर्घकालीन प्रभावबारे बढ्दो चिन्तालाई झल्काउँछ ।
कम्पनीको पछिल्लो त्रैमासिक नतिजा सार्वजनिक भएपछि सेयर बिक्रीको चाप झनै बढेको छ । नतिजा सार्वजनिक भएपछि शुक्रबार एकै दिनमा सेयर मूल्य झण्डै ७ प्रतिशतले घटेको छ जसले गर्दा यस वर्षको कुल गिरावट करिब ३० प्रतिशत पुगेको छ ।
इन्फोसिसको बजार पुँजीकरण अहिले करिब ४.९ लाख करोड भारु छ । भारतको आईटी क्षेत्र र ब्लुचिप निफ्टी सूचकांकको लागि मानक मानिने कम्पनीका लागि यो ठूलो गिरावट हो ।
यस गिरावटले समग्र बजारको श्रेणीक्रमलाई परिवर्तन गरिदिएको छ । ५.१ लाख करोड रुपैयाँको मूल्यका साथ भारतीय जीवन बीमा निगम शीर्ष १० को सूचीमा प्रवेश गरेको छ जबकि टाटा कन्सल्टेन्सी सर्भिसेसले पनि आफ्नो स्थान गुमाउँदै शीर्ष पाँचबाट बाहिरिएको छ ।
यसले आईटी सेयरहरूको मूल्यांकनमा आएको व्यापक गिरावटलाई संकेत गर्छ ।
पछिल्लो सेयर बिक्रीको तत्कालीन कारण कमजोर आम्दानी नभई कमजोर अपेक्षा थियो । इन्फोसिसले मार्च त्रैमासिकमा ४ हजार ४०२ करोड भारु राजस्व संकलन गरेको थियो । यो गत वर्षको तुलनामा १३ प्रतिशत बढी हो । त्यस्तै खुद नाफा अनुमानभन्दा बढी अर्थात् ८५ सय १ करोड भारु पुगेको थियो ।
तर, आर्थिक वर्ष २०२७ का लागि कम्पनीको प्रक्षेपण, स्थिर मुद्रामा १.५ प्रतिशतदेखि ३.५ प्रतिशत राजस्व वृद्धि, बजारको अपेक्षाभन्दा कम रह्यो । यसले सुस्त वृद्धिको चरण केही समयसम्म जारी रहने धारणालाई थप बल पुर्याएको छ ।
विश्लेषकहरूका अनुसार, यो समस्या चक्रीय नभई संरचनागत हो जुन अझ बढी चिन्ताको विषय हो । एक्सिस सिक्योरिटीजका अनुसार, ग्राहकहरूले लागत न्यूनीकरण र भेन्डर कन्सोलिडेसन (आपूर्तिकर्ताको संख्या घटाउने प्रक्रिया) लाई प्राथमिकता दिएकाले स्वैच्छिक खर्च घटेको छ ।
ब्रोकरेजले भनेको छ, ‘ग्राहकहरूले सहनशीलता र लागत दक्षतामा ध्यान केन्द्रित गर्दा सबै क्षेत्रहरूमा माग सुस्त छ ।’ वृद्धि अब विस्तारमा गरिने खर्चभन्दा उत्पादकत्वमा आधारित रूपान्तरणमा बढी निर्भर छ ।
यस परिवर्तनले आईटी सेवा प्रदायक कम्पनीहरूमा प्रत्यक्ष प्रभाव पारेको छ । ठूला रूपान्तरण सम्झौताहरूमा आधारित परम्परागत आम्दानीका स्रोतहरू सुस्ताउँदै गएका छन् जबकि एआई र अटोमेशनमा नयाँ मागहरू सिर्जना भइरहेका छन् ।
इन्फोसिसले टोपाज जस्ता प्लेटफर्म र विश्वव्यापी प्रविधि कम्पनीहरूसँगको साझेदारीमार्फत एआईमा सक्रिय रूपमा लगानी गरिरहेको छ । कम्पनीले आन्तरिक रूपमा पनि ठूलो स्तरमा एआई उपकरणहरू प्रयोगमा ल्याएको छ जहाँ ३० हजारभन्दा बढी डेभलपरहरूले उत्पादकत्व बढाउने प्लेटफर्महरू प्रयोग गरिरहेका छन् ।
यी पहलहरूले विशेष गरी डेटा, क्लाउड र अटोमेशनमा आधारित सेवाहरूमा नयाँ व्यापारिक अवसरहरू सिर्जना गर्न थालेका छन् ।
तर, विश्लेषकहरूले एआई दुईधारे तरबार भएको चेतावनी दिएका छन् । एचडीएफसी सिक्योरिटीजका अनुसार, एआईले आम्दानीका नयाँ बाटाहरू खोले पनि यसले विद्यमान स्रोतहरूलाई खुम्च्याइरहेको छ । ब्रोकरेजले भनेको छ, ‘एआईबाट प्राप्त हुने उत्पादकत्वको फाइदा ग्राहकहरूलाई हस्तान्तरण गरिँदैछ जसले मुख्य व्यवसायमा मूल्य गिरावट ल्याइरहेको छ ।’ यस अवस्थाले नयाँ एआई सम्झौताहरूबाट हुने वृद्धिलाई प्रभावहीन बनाइरहेको छ ।
विभिन्न क्षेत्रहरूमा मागको वातावरण असमान छ । निरन्तर लगानी र आउटसोर्सिङको प्रवृत्तिका कारण वित्तीय सेवा र ऊर्जा क्षेत्रहरू स्थिर देखिएका छन् । तर, समष्टिगत आर्थिक अनिश्चितता, भूराजनीतिक तनाव र कमजोर उपभोक्ता मागका कारण उत्पादन, रिटेल र टेलिकम क्षेत्रहरू अझै पनि सतर्क छन् ।
ठूला सम्झौताहरू हुनु उत्साहजनक पक्ष रहेको छ । इन्फोसिसले आर्थिक वर्ष २०२६ मा १४.९ अर्ब डलर बराबरका सम्झौताहरू गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा २४ प्रतिशत बढी हो । यसमध्ये आधाभन्दा बढी पूर्णतया नयाँ सम्झौताहरू थिए ।
विश्लेषकहरूका अनुसार, यसले छोटो अवधिको कार्यान्वयन समय लम्बिए पनि ग्राहकहरू अझै पनि दीर्घकालीन आयोजनाहरूप्रति प्रतिबद्ध छन् भन्ने संकेत गर्छ ।
एलारा सिक्योरिटीज भने तुलनात्मक रूपमा सकारात्मक देखिएको छ । उसले कम्पनी आर्थिक वर्ष २०२७ मा ग्राहकको व्यवहारबारे स्पष्ट जानकारीका साथ प्रवेश गरिरहेको तर्क गरेको छ । ब्रोकरेजले प्रति कर्मचारी राजस्व र प्रति कर्मचारी सञ्चालन मुनाफामा भएको सुधारलाई सञ्चालन दक्षताको सूचकका रूपमा औंल्याएको छ । यद्यपि, यसले पनि आम्दानीको अनुमान र लक्षित मूल्य घटाउँदै संशोधित वृद्धि दृष्टिकोणसँग तालमेल मिलाएको छ ।
मूल्यांकनहरू पनि सोही अनुसार समायोजित भएका छन् । सेयर अहिले करिब १८ गुणा फर्वार्ड अर्निङ (भविष्यको सम्भावित आम्दानी) मा कारोबार भइरहेको छ जुन पहिलेको तुलनामा कम हो । अल्पकालीन आम्दानीबाहेक लगानीकर्ताहरू एउटा ठूलो प्रश्नसँग जुधिरहेका छन्ः एआईले आईटी सेवाको व्यापार मोडललाई कसरी परिवर्तन गर्ला ? चिन्ता सुस्त वृद्धिको मात्र नभई अटोमेशनले परम्परागत सेवाहरूको आवश्यकता घटाउँदा राजस्वमा आउने संरचनात्मक गिरावटको हो ।
यो जोखिम अझै विकसित भइरहेको छ तर यसले लगानीकर्ताको व्यवहारलाई अहिले नै प्रभाव पार्न थालिसकेको छ । विश्वव्यापी प्रतिस्पर्धी कम्पनीहरूले पनि यस्तै प्रवृत्तिहरूको संकेत गरेका छन् जसले यो उद्योग यस्तो चरणमा प्रवेश गर्दैछ जहाँ वृद्धि हासिल गर्न र नाफाको मार्जिन कायम राख्न कठिन हुनेछ ।
इन्फोसिसका लागि चुनौती भनेको आफ्नो नाफालाई असर पर्न नदिई यो संक्रमणकालीन अवस्थालाई पार गर्नु हो । कम्पनीले कम नाफा हुने सम्झौताहरूबाट बाहिरिने र उच्च मूल्यका सेवाहरूमा ध्यान केन्द्रित गर्ने जस्ता कदमहरू चालेको छ तर यी कदमहरूको प्रभाव वित्तीय प्रदर्शनमा देखिन केही समय लाग्नेछ ।









प्रतिक्रिया