हर्मुज संकटमा भारतले कसरी तेलको प्रबन्ध मिलायो ?

420
Shares

एजेन्सी । पश्चिम एसियाली द्वन्द्व सुरु भएको करिब दुई महिना भएको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले मिलेर इरानमाथि हमला गरेका थिए । त्यतिबेला देखि अहिलेसम्म हर्मुज जलयोजकबाट हुने व्यापार लगभग ठप्प छ । भारतले आफ्नो आवश्यकताको आधा कच्चा तेल यही बाटोबाट आयात गर्छ ।

आपूर्ति अवरुद्ध भइरहेका बेला भारतले कच्चा तेलको अभाव टार्न तीव्र रूपमा वैकल्पिक स्रोतहरूतर्फ ध्यान केन्द्रित गरेको छ । विश्लेषकहरूका अनुसार, भारतले रुसबाट तेल खरिद बढाएको छ । साथै, अफ्रिका, इरान र भेनेजुएलाबाट पनि आपूर्ति पुनः सुरु गरेको छ ।

रुस भारतका लागि सबैभन्दा ठूलो वैकल्पिक आधारका रूपमा देखा परेको छ । मार्चमा भारतले रुसबाट औसतमा १९.८ लाख ब्यारल प्रति दिन तेल आयात गर्यो जुन अघिल्लो महिनाहरूको तुलनामा झन्डै दोब्बर हो ।

यो वृद्धि अमेरिकाले मार्चमा दिएको त्यस अस्थायी छुटका कारण सम्भव भएको हो जुन पहिले नै समुद्रमा रहेका रुसी तेलका लागि दिइएको थियो भनी विश्लेषकहरू बताउँछन् । अहिले यो छुटलाई मे १६ सम्म बढाइएको छ ।

भारतले रुसमाथि निर्भर रहनुको साटो अन्य बजारहरूतर्फ पनि पाइला चालेको छ ।

मार्चमा अंगोलाबाट हुने आयात बढेर ३.२७ लाख बीपीडी पुग्यो । त्यो फेब्रुअरीको तुलनामा तीन गुणा बढी हो ।

अप्रिलको मध्यसम्ममा इरानबाट औसत २.७६ लाख बीपीडी र भेनेजुएलाबाट १.३७ लाख बीपीडी तेल भारत आइपुगेको छ ।
भारतले नाइजेरियाबाट पनि तेलको खरिद बढाएको छ ।

भारतले तेलको आपूर्ति सुरक्षित गरे पनि बाटो सहज भने छैन ।

कच्चा तेलको मूल्यमा लगातार वृद्धि भइरहेको छ । अप्रिलका सम्झौताहरू विश्वव्यापी बेन्चमार्क ब्रेन्ट क्रुडभन्दा ५ देखि १५ डलर प्रति ब्यारल बढी मूल्यमा भएका छन् ।

अफ्रिकी तेल पश्चिम एसियाली तेलको पूर्ण विकल्प हुन सक्दैन किनभने भारतीय रिफाइनरीहरू एक विशेष ’ग्रेड’ को तेलका लागि डिजाइन गरिएका छन् ।

वैकल्पिक खरिदका बाबजुद भारतको कुल तेल आयातमा गिरावट आएको छ । फेब्रुअरीमा ५२ लाख बीपीडी कच्चा तेल आएकोमा मार्चमा यो घटेर ४५ लाख बीपीडीमा सीमित भयो ।

सरकारी तेल कम्पनीहरूले अहिलेसम्म पेट्रोल र डिजेलको मूल्य बढाएका छैनन् । पेट्रोलियम मन्त्रालयले सरकारी तेल कम्पनीहरू घाटामा रहेको स्वीकार गरेको छ तर तत्कालै मूल्य बढाउने कुरालाई भने अस्वीकार गरेको छ ।

सरकारले अन्तःशुल्क घटाएर राहत दिएको छ । विधानसभा निर्वाचन सकिएपछि पेट्रोल र डिजेल प्रति लिटर २८ भारुसम्म महँगो हुन सक्ने केही विश्लेषकहरूको अनुमान छ ।