हवाई भाडा बढाउने वायुसेवा सञ्चालकको निर्णय

945
Shares

काठमाडौं । हवाई उडानको भाडा बढेको छ । पश्चिम एसियामा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि नेपालमा पनि हवाई इन्धनको मूल्य मंगलबार रातिदेखि लागू हुने गरि करिब दोब्बरले बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा भारी वृद्धि गरेसँगै वायुसेवा सञ्चालकहरूले पनि भाडा बढाउने निर्णय गरेका छन् ।

नेपाल आयल निगमले चैत १८ गते रातिदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर १२४ रुपैयाँ वृद्धि गरेको छ । यससँगै अब हवाई इन्धनको मूल्य प्रतिलिटर २५१ रुपैयाँ पुगेको छ ।

इन्धनको मूल्य झण्डै दोब्बरले बढेपछि वायुसेवा कम्पनीहरूले आफ्नो उडान खर्च धान्नका लागि ‘फ्युल सरचार्ज’ बढाएका छन् । यो वृद्धि सबै उडान गन्तव्यका साथै हेलिकप्टर भाडामा समेत लागू हुने नेपाल वायुसेवा सञ्चालक संघले जनाएको छ ।

वायुसेवा सञ्चालक संघका अनुसार हवाई इन्धनको मूल्य बढ्दा वा घट्दा सोही अनुपातमा भाडा दर समायोजन गर्ने पूर्वसहमति तथा स्वचालित प्रणाली बमोजिम यो वृद्धि गरिएको हो । इन्धनको मूल्यमा भएको अस्वाभाविक वृद्धिका कारण भाडा बढाउनु परेको भन्दै संघले यात्रु महानुभावहरूमा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यात्रु महानुभावहरूलाई सहज, सरल तथा सुविधाजनक सेवा प्रदान गर्नका लागि हवाई भाडा दर तथा हेलिकप्टर भाडा दर पनि स्वतः वृद्धि गर्नुपर्ने भएकाले नयाँ भाडा दर कायम गरिएको हो । बढेको भाडा दर निगमले तोकेको मिति (२०८२ चैत १८) बाटै लागू भएको जानकारी गराइएको छ ।’

Skip This