
काठमाडौं । सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च महिनामा दक्षिण एसियाली र अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्यामा उल्लेख्य रूपमा वृद्धि देखिएको छ ।
तथ्यांकअनुसार, मार्च २०२६ मा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ४२ हजार ६६८ पर्यटक नेपाल आएका छन् । जुन कुल आगमनको करिब ३५.४ प्रतिशत हो । यसमध्ये भारतबाट सबैभन्दा धेरै २५ हजार ७२८ पर्यटक आएका छन् ।
श्रीलंकाबाट १० हजार ७५९ र बंगलादेशबाट ४ हजार ६७६ पर्यटकले नेपाल भ्रमण गरेका छन् । भारतबाट आउने पर्यटकको उच्च संख्याले धार्मिक, सांस्कृतिक तथा छोटो अवधिको भ्रमण प्रवृत्ति अझै बलियो रहेको देखाउँछ ।
अन्य एसियाली मुलुकबाट आउने पर्यटकको संख्या पनि उत्साहजनक देखिएको छ । चीनबाट ११ हजार २२०, म्यानमारबाट ६ हजार २० र थाइल्याण्डबाट ३ हजार ८९७ पर्यटक नेपाल आएका छन् ।
जापान, मलेसिया र दक्षिण कोरियाबाट समेत उल्लेख्य आगमन भएको छ । समग्रमा अन्य एसिया क्षेत्रबाट ३३ हजार ४३६ पर्यटक भित्रिएका छन्, जुन कुल आगमनको करिब २७.७ प्रतिशत हो । युरोपेली र अमेरिकी बजारबाट आउने पर्यटकको संख्यामा उल्लेखय वृद्धि नभए पनि स्थिर देखिएको छ ।
पश्चिम एसियामा जारी युद्धको प्रभावका कारण युरोप र अमेरिकाबाट पर्यटक आगमन वृद्धिमा असर परेको बोर्डले जनाएको छ । यद्यपि एसियाली बजारको तुलनामा युरोप र अमेरिकाबाट आउने पर्यटकको संख्या कम भए पनि उच्च खर्च गर्ने पर्यटकको रूपमा उनीहरुको योगदान महत्वपूर्ण मानिन्छ ।
सन् २०२५ को मार्चमा एक लाख २१ हजार ६८७ विदेशी पर्यटक नेपाल भित्रिएका थिए भने कोभिड-१९ सुरु हुनुअघि भने सोही महिनामा १ लाख २७ हजार ३५१ आगमन भएको देखिन्छ । सन् २०२६ को फेब्रुअरीमा एक लाख ५ हजार ४४१ पर्यटक भित्रिएका थिए ।
मार्च-अप्रिललाई मौसम, ट्रेकिङ सिजनलगायतका कुराले आगमन वृद्धि हुने महिनाको रुपमा हेरिन्छ । तर, यस वर्षको मुख्य सिजनमा नै पश्चिम एसियामा चर्किँदो युद्धले अन्तर्राष्ट्रिय उडान प्रभावित हुनुका साथै सम्बन्धित मुलुकहरुले जारी गरेको ट्राभल एड्भाइजरी ले गर्दा उल्लेख्य वृद्धि हुन सकेको छैन ।
विशेषगरी यो सिजनमा अरु महिनाको तुलनामा हिमाल आरोहण, ट्रेकिङ, साहसिक पर्यटन र सांस्कृतिक भ्रमणका लागि नेपाल आउने पर्यटकको संख्या बढ्ने गर्दछ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिपकराज जोशीले वैश्विक द्वन्द्व र अन्तर्राष्ट्रिय उडान प्रभावित हुँदा पनि आगमन तथ्यांक निराशाजनक नभएको बताएका छन् ।
उनले भने, युरोप र अमेरिकाबाट हुने आगमन केही घटे पनि भारतलगायत छिमेकी मुलुकबाट पर्यटक आगमन बढ्नु सकारात्मक संकेत हो । हामीले पनि छिमेकी बजारलाई क्यास गर्ने गरी प्रवर्द्धनात्मक कार्यक्राहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।
यसका साथै युरोप र अमेरिकाजस्ता उच्च खर्च गर्ने पर्यटक लक्षित बजारमा पनि हाम्रो उपस्थिति अन्तर्राष्ट्रिय मार्टमार्फत सशक्त बनाउँदै लगेका छौं ।
सीईओ जोशीले हालको तथ्यांक हेर्दा आत्तिनुपर्ने अवस्था नभए पनि ढुक्क भएर बस्ने स्थिति पनि नभएको बताएका छन् । उनले भने, ‘विशेषगरी पश्चिम एसियामा विकसित परिस्थिति अनिश्चित बन्दै जाँदा आगामी दिनमा विश्व पर्यटन बजारलाई नै असर पार्न सक्छ । त्यसैले, नेपाल पर्यटन बोर्डले सन्तुलित र दिगो रणनीतिसहित वैकल्पिक बजार विस्तारका रणनीति बनाएको छ ।’










प्रतिक्रिया