
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं व्यवसायी विनोद चौधरीले विगत ३० महिनामा पश्चिम नवलपरासीको विकासको आधार (फाउन्डेसन) तयार भएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै चौधरीले यस्तो बताएकी हुन् ।
‘विगत ३० महिनामा पश्चिम नवलपरासीको विकासको आधार (फाउन्डेसन) तयार भएको छ । यही जगमा टेकेर यस क्षेत्रको विकास अभियान अझ अगाडि बढ्नेछ भन्ने विश्वास लिएको छु,’ चौधरीले लेखेका छन्, ‘अहिले निर्वाचित नभए पनि यहाँको विकास–निर्माण र जनताको सुख–दुःखमा म सधैं तपाईंहरूसँगै रहनेछु ।
संसदमा नरहे पनि देशलाई आर्थिक विकासको सही दिशामा लैजान आफ्नो ज्ञान र अनुभव राष्ट्रका लागि सधैं समर्पित गर्न म तयार रहनेछु । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूबाट नेपालको प्रतिष्ठा बढाउने काममा म सधैं लागिरहनेछु ।’
उनले आफूलाई रूख चिन्हमा मतदान गर्ने सबैलाई आभार व्यक्त गर्दै निर्वाचन अभियानका क्रममा साथ दिनेलाई धन्यवाद ज्ञापन गरेका छन् ।
नवलपरासी (बसुप) क्षेत्र नम्बर १ बाट यस क्षेत्रबाट निर्वाचित भएकोमा रास्वपाका विक्रम खनाललाई पनि चौधरीले बधाई तथा शुभकामना दिएका छन् ।








प्रतिक्रिया