शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकामा राष्ट्रपतिद्वारा सन्तोष व्यक्त

105
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशभर शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न भएकोमा सन्तोष व्यक्त गरेका छन्।

राष्ट्रपतिले बिहीबार जारी गरेको सन्देशमा निर्वाचन प्रक्रियामा सक्रिय रूपमा सहभागी भई लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन योगदान पुर्‍याउने सम्पूर्ण मतदाता, निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन्।

उनले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनु लोकतन्त्रको सुदृढीकरणका लागि सकारात्मक संकेत भएको उल्लेख गर्दै यसले जनतामा लोकतान्त्रिक प्रणालीप्रति विश्वास अझ मजबुत बनाएको बताएका छन्।

राष्ट्रपति पौडेलले निर्वाचनको सम्पूर्ण व्यवस्थापन सफलतापूर्वक सम्पन्न गराएको भन्दै निर्वाचन आयोगलाई सहित सम्बन्धित निकायहरूको प्रशंसा गरेका छन्। साथै निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन सहयोग पुर्‍याउने राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम तथा आम नागरिकप्रति पनि आभार व्यक्त गरेका छन्।

उनले निर्वाचनबाट जनताले व्यक्त गरेको अभिमतलाई सम्मान गर्दै आगामी दिनमा जनप्रतिनिधिहरूले जनअपेक्षाअनुसार काम गर्ने विश्वास व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले लोकतन्त्रलाई संस्थागत गर्दै देशको समृद्धि र स्थायित्वतर्फ सबै पक्ष मिलेर अघि बढ्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्।