अमेरिकाले निष्कासन गरेका ९० भन्दा बढी नेपाली आइपुगे नेपाल

343
Shares

काठमाडौं । अमेरिकाले निष्कासन गरेकामध्ये ९० जनाभन्दा बढी नेपाली शनिबार बिहानै काठमाडौं आइपुगेका छन्।

निष्काशित भएकाहरूलाई ओम्नी एयरको चार्टड जहाजमार्फत काठमाडौं ल्याइएको हो।

ओम्नी एयर उडानबाट श्रीलंकाको कोलम्बो हुँदै ९० जनाभन्दा बढी नेपाली काठमाडौं आएका हुन्। अमेरिकी सरकारले १२० भन्दा बढी निष्कासित नेपालीहरूलाई नेपाल पठाइने वासिंटन डिसीस्थित नेपाली दूतावासलाई पत्राचार गरेको थियो।

सोहीअनुसार त्यहाँको दूतावासले नेपालको परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो। स्रोतका अनुसार बाँकी रहेका अन्य केहीलाई पनि ल्याउने तयारी भइरहेको छ। अध्यागमनको कानुन उल्लंघन गरेको आरोपमा त्यहाँको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

स्रोतका अनुसार उनीहरूमध्ये केही पासपोर्ट फ्याँकेर लुकिछिपी बस्दै आए, केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका र त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा निष्काशित भएका हुन्।

अमेरिकाले सानो संख्यामा डिपोर्ट गर्दा विभिन्न एयरलाइन्स र चार्टर्ड विमानमार्फत नेपाल फर्काउने गरेको छ भने धेरै हुँदा चार्टड विमानमार्फत पठाउने गरेको छ। निष्कासित नेपालीलाई काठमाडौंस्थित अमेरिकी दूतावासले अध्यागमन विभागलाई जानकारी दिने र विमानस्थलमा आइपुगेपछि नेपाल प्रहरीको जिम्मामा लगाउने गरिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागू गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा परेका छन्।

नेपालीहरू विभिन्न मुलुक हुँदै पानामा सीमाबाट अमेरिकामा गैरकानुनी प्रवेश गर्ने गरेका छन्। नेपालीहरूले आफ्नो ज्यानको जोखिम मोलेर लाखौं रुपैयाँ तिरेर अमेरिका पुग्ने गरेपश्चात सरकार र नेपालस्थित अमेरिकी दूतावासले पनि दलालको प्रलोभनमा परेर गैरकानुनी रूपमा अमेरिका प्रवेश नगर्न अपिल गर्दै आएको छ।

पछिल्लो समय नेपालबाट अमेरिका जाने नेपालीलाई समेत भिसामा कडाइ गर्दै आएको छ।