हिमाली भेगमा हल्का वर्षासहित हिमपातको सम्भावना

0
Shares

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली तथा पहाडी भागमा आंशिक बादल लागेको छ । तराई भागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी प्रदेशका हिमाली तथा पहाडी भागसहित बाँकी हिमाली भागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ भने बाँकी पहाडी भागमा आंशिक बादल लाग्नेछ ।

तराई भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका समेत एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार राति तराईका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागसहित बाँकी हिमाली भागमा आंशिक बादल लाग्नेछ र बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी र गण्डकी प्रदेशका हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।