
काठमाडौं । अन्तर्राष्ट्रिय समाचार संस्था ब्रिटिस बोर्डकास्टिङ कर्पोरेशन (बीबीसी)ले सार्वजनिक गरेको एक भिडियो डकुमेन्ट्रीले भदौ २३ र २४ को जेनजी आन्दाेलन राज्यको असफलता भएको निष्कर्ष निकालेको छ । भदौ २३ मा गोली चलाउने आदेश तत्कालीन प्रहरी नेतृत्वकै र तत्कालीन सरकार प्रमुखकै भएको निष्कर्ष डकुमेन्ट्रीमा छ ।
२०८२ साल भदौ २३ गते काठमाडौंको सडकमा सुरु भएको जेनजी पुस्ताको शान्तिपूर्ण आन्दोलन राज्य र युवाबीचको हिंसात्मक टकरावमा परिणत भयो । बीबीसी वर्ल्ड सर्भिसको डकुमेन्ट्री इन्साइड नेपाल जेनजी अपराइजिङले दुई दिनको ती ४८ घण्टामा भएका घटनालाई भिडियो, अडियो र प्रत्यक्षदर्शीको भनाइका आधारमा सूक्ष्म रूपमा सार्वजनिक गरेको छ । सो क्रममा बीबीसीले ४ हजारभन्दा बढी भिडियो हेरेर विश्लेषण सहित निष्कर्ष निकालेको दाबी गरेको छ ।
डकुमेन्ट्रीका अनुसार आन्दोलन केवल तत्कालीन सरकारविरुद्धको आक्रोश मात्र नभई बेरोजगारी, भ्रष्टाचार, राजनीतिक अहंकार र असमानताविरुद्ध दशकौँदेखि थुप्रिँदै आएको कुण्ठाको विस्फोट थियो।
सामाजिक सञ्जाल प्रतिबन्ध : आन्दोलन भड्काउने पहिलो काम
भदौ १९ गते सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गर्यो । यी र यस्तै असन्तोषलाई सडकको आन्दोलनमा रूपान्तरण गरेको बीबीसीले उल्लेख गरेको छ । सामाजिक सञ्जालमा प्रतिवन्ध लगाउने सरकारी निर्णयपछि डिस्कर्ड, टिकटक र वैकल्पिक अनलाइन प्लेटफर्ममार्फत देशव्यापी आन्दोलनको योजना बन्न थालेको थियो ।
भदौ २३ गते बिहान ९ बजे माइतीघर मण्डलाबाट सुरु भएको जुलुस मदन भण्डारी सडक हुँदै संसद भवनतर्फ अघि बढ्यो । सरकारी निकायले ३ हजार प्रदर्शनकारी अनुमान गरे पनि दशौँ हजार सडकमा उत्रिएका थिए ।
कतिपय युवाले आफूलाई सुरक्षित ठानेर स्कुल युनिफर्मसमेत लगाएका थिए । आयोजकहरूले शान्तिपूर्ण प्रदर्शनको आह्वान गरे पनि भीड संसद भवन नजिकिँदै जाँदा अवस्था तनावग्रस्त बन्दै गयो ।
कर्फ्यु र अश्रु ग्यास : अवस्था कसरी नियन्त्रणबाहिर गयो ?
बीबीसा अनुसार ११ बजेर ४७ मिनेटमा प्रदर्शनकारीले ब्यारिकेड तोडिएपछि प्रहरी पछि हट्यो । साढे १२ बजे कर्फ्यु घोषणा गरियो । त्यसपछि अश्रु ग्यास, लाठीचार्ज र रबरको गोली प्रयोग भएको थियो ।
बीबीसीले प्राप्त गरेको प्रहरी रेडियो अडियोमा बारम्बार ‘लाठीचार्ज गर्नु’ भन्ने आदेश सुनिन्छ । तर कर्फ्युले भीड छरिनुको सट्टा झन् आक्रोशित बनाएको डकुमेन्ट्रीको उल्लेख छ ।
विनोद महर्जनलाई लाग्यो पहिलो गोली
३४ वर्षीय बिनोद महर्जन भदौ २३ गते गोली लाग्ने पहिलो व्यक्ति रहेको बीबीसीले जनाएको छ । उनीमाथि गोली प्रहारको प्रत्यक्ष भिडियो नभेटिए पनि, दिउँसो सवा १ बजे गम्भीर घाइते अवस्थामा उनलाई बोकेर लगिएको दृश्य क्यामेरामा कैद भएको डकुमेन्ट्रीमा उल्लेख गरिएको छ ।
अस्पताल पुर्याएपछि बिनोदको मृत्यु भयो । यही खबर डिस्कोर्डमार्फत फैलिँदै जाँदा सडकको रिस क्रोधमा बदलियो ।
भिडियोमा २७ वर्षीय कमल घिमिरेले आफ्नै फोनबाट संसद अगाडिको अवस्था खिचिरहेका थिए । भिडियोमा बन्दुक बोकेका प्रहरी देखिन्छन् । केही क्षणपछि कमल ढलेको सो भिडियो डकुमेन्ट्रीमा देखिन्छ ।

मेडिकल रिपोर्ट अनुसार गोली उनको बायाँ काखीमुनि छिरेर पिठ्युँबाट बाहिर निस्किएको थियो । मेरुदण्ड केही मिलिमिटरले नछोएकाले उनी बाँच्न सफल भए । बीबीसीले यो घटनालाई गोली कुन दिशाबाट आयो भन्ने बुझ्न महत्वपूर्ण केस–स्टडी मानेको छ ।
२२ वर्षीय रसिक खतिवडाको टिसर्टमा लेखिएको थियो, ‘हामी नेता चाहन्छौँ, लुटेरा होइन ।’ दिउँसो १ बजेर ५३ मिनेटमा उनलाई छातीमा गोली लागेको अवस्थामा बोकेर लगिएको दृश्य क्यामेरामा कैद छ ।
गोली कहाँबाट हानियो भन्ने यकिन नभए पनि यही चोटले उनको मृत्यु भयो । बीबीसीका अनुसार रसिक हिंसात्मक गतिविधिमा संलग्न भएको कुनै प्रमाण भेटिएको छैन ।
भिडियोमा सुलभ राज श्रेष्ठ संसद गेटमै ढलेको देखिएको छ । २१ वर्षीय सुलभ राज श्रेष्ठले संसद परिसरको गेटमै बसेर ‘भ्रष्टाचार अन्त्य गर’ लेखिएको कागज बोकेका थिए । केही सेकेन्डमै उनी गोली लागेर ढले । त्यसपछि प्रदर्शनकारीहरूले उनको शरीर संसद गेटअगाडि राखेर नेपालको झण्डा ओढाइदिए । त्यो दृश्य आन्दोलनको सबैभन्दा प्रतीकात्मक क्षणमध्ये एक बनेको डकुमेन्ट्रीले उल्लेख गरेको छ ।
श्रीयम चौलागाई : स्कुल ड्रेसमा मारिएका १७ वर्षे किशोर
१७ वर्षीय श्रीयम चौलागाई जेनजी आन्दोलनमा सहीद भएका सबैभन्दा कम उमेरका हुन् । स्कुल ड्रेसमै प्रदर्शनमा आएका श्रीयमले आमा–बुवालाई ‘माइनरलाई कसैले हात लाउँदैन’ भनेका थिए । भीडमा चुपचाप उभिएका उनलाई टाउकोको पछाडिबाट गोली लागेको थियो । गम्भीर घाइते भएका उनलाई राष्ट्रिय ट्रमा सेन्टर लगियो । तर अस्पताल पुग्दा उनको मृत्यु भइसकेको थियो ।
डकुमेन्ट्रीमा श्रीयमका बुबाले भनेका छन्, ‘उनीहरूका लागि एउटा विद्यार्थी गयो, हाम्रो लागि त संसारै गयो ।’
भिडियोमा २४ वर्षीय योगेन्द्र न्यौपानेको मृत्युबारे बीबीसीले सबैभन्दा स्पष्ट भिडियो प्रमाण भेटाएको दाबी गरेको छ । विभिन्न क्यामेरा एंगल मिलाएर विश्लेषण गर्दा संसद परिसरभित्र रहेका सुरक्षाकर्मीको समूहबाट गोली चलेको देखिने डकुमेन्ट्रीको निष्कर्ष छ ।
बीबीसीले विश्लेषण गरेका फुटेजमा योगेन्द्र पनि कुनै हिंसात्मक गतिविधिमा संलग्न देखिँदैनन् ।
‘किलो वान’ र ‘पिटर वान’ : गोली चलाउने आदेश कसले दियो ?
प्रहरी रेडियो अडियोमा ‘किलो वान’ कल साइनबाट ‘फायर खोलेर सुरक्षित हुने’ आदेश आएको सुनिन्छ । तर बीबीसीका अनुसार बल प्रयोग गर्ने प्रारम्भिक आदेश ‘पिटर वान’ कल साइनका उच्च अधिकारीबाट आएको थियो ।
बीबीसीले प्रहरी स्रोतलाई उल्लेख गर्दै किलो वान कलसाइन काठमाडौं प्रहरी प्रमुख विश्व अधिकारीको रहेको दाबी गरेको छ । प्रहरी रेकर्ड अनुसार गोली चलाउने पहिलो आदेश पिटर वान कलसाइनको आएको थियो । दिउँसो १२ बजेर ४० मिनेटमा पिटर वानले ‘कर्फ्यु लागिसकेको छ, आदेश माग गरिराख्नु पर्दैन, आवश्यक बल प्रयोग गरेहुन्छ’ भन्ने आदेश दिएका थिए । बीबीसीले भनेको छ, ‘पिटर वान प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ थिए ।’
डकुमेन्ट्रीले प्रश्न उठाएको छ, घातक बल प्रयोग गर्ने निर्णय राजनीतिक थियो कि प्रशासनिक ?
भोलिपल्ट आन्दोलन झन् हिंसात्मक बन्यो । सरकारी भवन, नेताका घर, बैंक र कारागारमा आक्रमण भयो । १३ हजारभन्दा बढी कैदी भागे । अन्ततः भदौ २४ गते प्रधानमन्त्रीले राजीनामा दिए ।
राति ९ बजेपछि मात्र सेनाले सक्रिय हस्तक्षेप गरेपछि अवस्था नियन्त्रणमा आयो । बीबीसीको निष्कर्ष निकालेको छ, ‘भदौ २३ र २४ मा आन्दोलन होइन, राज्यको असफलता हो ।’
यस्तो छ बीबीसीको भिडियोः








प्रतिक्रिया