
सिरहा । यहाँको कल्याणपुर नगरपालिका–१२ बेल्हाकट्टीमा तीन महिनाअघिको डकैती घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी ती आरोपीहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूबाट दुई थान कटुवा पेस्तोल, चार राउण्ड गोली, करिब ३० ग्राम खैरो हेरोइनजस्तो लागूऔषध र मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामाथि डाँका, ज्यान मार्ने उद्योग, हातहतियार तथा लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जनकारी दिए ।
गत मंसिर ३ गते हतियारधारी समूहले स्थानीय भोला महतोको घरमा प्रवेश गरी करिब ६ लाख रुपैयाँ बराबरको सुनचाँदी, मोबाइल र ड्रोन क्यामेरा लुटपाट गरेको थियो ।
घटनाका क्रममा गोली चल्दा दुई जना गम्भीर घाइते भएका थिए । प्रहरीले घटनामा प्रयोग भएको अटोरिक्सा नियन्त्रणमा लिएको छभने अन्य फरार व्यक्तिको खोजी भइरहेको जनाएको छ ।








प्रतिक्रिया