फौजदारी विषयमा पारस्परिक कानूनी सहायतासम्बन्धी नेपाल–भारतबीच सम्झौता

42
Shares

काठमाडौं । नेपाल–भारत सरकारबीच फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीका अनुसार नेपाल र भारत सरकारबीच मंगलबार यो सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेपालको तर्फबाट मन्त्रालयका तर्फबाट सहसचिब बिनोदकुमार भट्टराई र भारत सरकारको तर्फबाट भारतीय राजदूत नवीन श्रीवास्तबले हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हासहित परराष्ट्र मन्त्रालयका अधिकारीहरु सहभागी भएका थिए ।

उक्त सम्झौता फौजदारी विषयमा दुई मुलुकबीच पारस्परिक कानूनी सहायता आदानप्रदान गर्ने उद्देश्यले सम्पन्न भएको हो । सम्झौताले फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा न्यायिक कारवाहीको क्रममा प्रमाण संकलन तथा आदानप्रदान लगायतका विषयमा दुवै मुलुकका सक्षम अधिकारीबीच सहयोग आदान प्रदानको लागि औपचारिक रुपमा बाटो खुला भएको मन्त्रालयले जनाएको छ ।

सम्झौताले नेपालमा हुने वित्तीय अपराध न्यूनिकरण गर्न तथा अनुसन्धान, अभियोजन र न्याय निरुपणलाई थप प्रभावकारी बनाउने औल्याइएको छ ।