
बिराटनगर । मोरङको जहदाबाट भारत लैजाने तयारीमा राखिएको ठूलो परिमाणको गाँजा बरामद भएको छ ।
सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले शनिबार बिहान ६ बजेतिर २ सय ७५ किलोभन्दा बढी गाँजा बरामद गरेको हो। साथै गाँजा भण्डारण गरेर राख्ने १ जना पक्राउ परेका छन् ।
मोरङ प्रहरीका सुचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले खाल्डो बनाउँदै माथिबाट परालले छोपेर राखेको अवस्थामा २ सय ७५ किलो ८ सय ग्राम गाँजा बरामद गरिएको बताए ।
उनका अनुसार जहदा गाउँपालिका–१ का अन्दाजी २८ वर्षीय चन्दनकुमार साहले गाँजा लुकाएर राखेको गोप्य सुचनाका आधारमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोली खटिएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीबाट खटिएको डीएसपी तिलकबहादुर खड्का र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको इन्स्पेक्टर कविन राई नेतृत्वको संयुक्त टोलीले बिहान ६ बजेतिर खानतलासी गरेको थियो ।
त्यस क्रममा साहको घरबाट पश्चिमतर्फ रहेको जमिनमा खाल्डो बनाई माथिबाट परालको कुनिउँले छोपेर कालो रंगको प्लाष्टिकमा लुकाइछिपाइ राखिएको अवस्थामा ९ पोका गाँजा फेला परेको हो। उक्त गाँजा जोख्दा २ सय ७५ किलो ८ सय ग्राम भएको इन्स्पेक्टर कविन राईले जानकारी दिए ।
उनका अनुसार गाँजा बरामद गरेर साहलाई पनि पक्राउ गरिएको छ । प्रारम्भिक अनुसन्धानबाट गाँजा भण्डारण गर्ने कार्यमा संलग्न देखिएका साहलाई आफ्नै घरको कोठामा लुकिछिपी बसिरहेको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका साह र बरामद गरिएको गाँजालाई इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।
साहविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । उक्त गाँजा कहाँबाट ल्याइएको र कता लैजान खोजिएको हो तथा यसको धन्दामा को को संलग्न छन् भन्ने पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको छ । गाँजा बरामद भएको स्थान नेपाल–भारत सीमानजिकै पर्छ ।
सुरक्षाकर्मीलाई छलेर गाँजा भारत कटाउनका लागि सीमा क्षेत्रनजिकै भण्डारण गरेर राखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।








प्रतिक्रिया