निर्बाचन : सरकारले प्रहरीलाई दियो १९५ गाडी, अपुग भाडामा लिइने

0
Shares

काठमाडौं । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सरकारले नेपाल प्रहरीलाई १९५ वटा सवारी साधन प्रदान गरेको छ ।

नेपाल प्रहरीले चुनावका लागि आफूलाई आवश्यक पर्ने सवारीसाधनको संख्या र प्रयोजन खुलाएरै गृह मन्त्रालयसँग माग गरिसकेको छ। त्यसमध्ये सरकारले प्रहरीलाई १९५ वटा साना गाडी उपलब्ध गराएको छ।

भारत सरकारले निर्वाचनका लागि नेपाल सरकारलाई गाडी प्रदान गरेको छ । तीमध्ये विभिन्न चरणमा गरेर गृह मन्त्रालयमार्फत १९५ वटा गाडी प्रहरीलाई उपलब्ध गराएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताए।

अझै केही गाडी भारतबाट आउने क्रममा रहेकाले सरकारले प्रहरीलाई थप गर्न सक्नेछ। यसअघि नियमित बजेटबाट पनि प्रहरीले १८५ वटा सवारीसाधन खरिद गरेको थियो।

जेनजी आन्दोलनका क्रममा ठूलो संख्यामा प्रहरीका सवारीसाधनमा क्षति पुगेको थियो। त्यसबराबर प्रहरीले गाडी प्राप्त गरिसकेको भए पनि निर्वाचनका लागि भने अपुग हुने भएको हो।

जेनजी आन्दोलनमा प्रहरीका १५१ वटा साना सवारी र ३२ वटा ठूला गाडी जलाइएको थियो। मोटरसाइकल ३२३ र विद्युतीय टेम्पो ३ वटा जलेका थिए। मोटरसाइकल भने प्रहरीलाई स्थानीय तह, विभिन्न व्यक्ति तथा संघ संस्थाहरूले पनि सहयोग गरेका छन्।

निर्बाचन र निर्बाचनपश्चात शान्ति सुरक्षा कायम राख्न आवश्यक पर्ने थप ३ हजार २ सय ७८ वटा गाडी आवश्यक पर्ने भएको छ। निर्वाचन लक्षित गस्तीका लागि मात्र प्रहरीलाई १ हजार ४८२ वटा सवारीसाधन चाहिने भएको हो।

त्यसैले अपुग सवारी पूर्तिका लागि चुनावमा प्रहरीले ठूलो संख्यामा गाडी भाडामा लिने भएको छ। यसअघिका निर्वाचनमा पनि अपुग सवारीसाधन भाडामा लिने गरेको प्रवक्ता काफ्लेले बताए।

गृह मन्त्रालयले प्रहरीलाई सुरुमा ४० वटा गाडी दिएको थियो। पछि थप गरेर १९५ वटा पुर्‍याएको हो। देशभर प्रहरीका २ हजार ६ सय बढी युनिट छन्।

तर, १० हजारभन्दा बढी मतदान केन्द्र रहेकाले ती केन्द्रमा गस्ती गर्न प्रहरीलाई सवारीसाधन अपुग भएको हो।

प्रहरीले १ हजार ४ सय ८२ वटा साना सवारीसाधन माग गरेको छ। यी सवारीसाधन मतदानस्थलको सुरक्षाका लागि मोबाइल गस्ती गर्न आवश्यक पर्ने प्रहरीको भनाइ छ। यस्ता सवारीसाधन भने प्रहरीलाई निर्वाचन अवधिभर नै आवश्यक पर्ने छ। तर अन्य गाडी भने प्रहरीलाई केही दिनका लागि मात्रै चाहिने हो।

काठमाडौँ उपत्यकाबाट विभिन्न जिल्लामा प्रहरी पठाउनका लागि ४०० गाडी आवश्यक पर्ने प्रहरीले जनाएको छ।

काठमाडौँमा प्रहरीको जनशक्ति धेरै छ। तर विभिन्न जिल्लामा आवश्यक संख्या अपुग रहेकाले काठमाडौँ उपत्यकाका प्रहरी प्रधान कार्यालयसहित विभिन्न कार्यालयको जनशक्तिलाई बाहिरी जिल्लामा खटाइने छ। त्यो जनशक्ति सम्बन्धित जिल्लासम्म पुर्‍याउन प्रहरीले ४ सय वटा बस भाडामा लिने भएको हो।

यस्तै विभिन्न जिल्लाका सदरमुकामबाट अर्को स्थानसम्म लैजान १९० वटा बस आवश्यक पर्ने भएको छ। जिल्ला सदरमुकामबाटै मतदानस्थलसम्म सानो संख्यामा प्रहरी लैजान र ल्याउन ७४० वटा साना गाडी ९जिप० आवश्यक पर्ने भएको छ।

एउटा प्रदेशबाट अर्को प्रदेशमा पनि प्रहरीलाई चुनावको बेला खटाइने भएको छ। एउटा प्रदेशमा बढी भएको जनशक्तिलाई अपुग हुने प्रदेशमा लैजाने सुरक्षा योजना छ। त्यस अनुसार प्रहरी लैजानका लागि ४६६ वटा बस चाहिनेछ।

यस्ता सवारीहरू भने रुट अनुसार केही छोटो समयका लागि र केही बस दुईतीन दिनसम्मका लागि भाडामा लिनु पर्ने प्रवक्ता काफ्लेले बताए। सवारी र रुट अनुसार आवश्यक भाडा पनि खुलाएर प्रहरीले सरकारसँग माग गरिसकेको छ।

निर्वाचनमा देशभर करिब ७२ हजार नेपाल प्रहरी खटाइने छ। यस्तै नेपाल प्रहरीसँगै एकलाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी पनि खटाइने छ। प्रहरीले माग गरेका सवारीसाधन निर्वाचन प्रहरीको प्रयोजनका लागि पनि हुन्।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले एक साथ निर्वाचन प्रहरी भर्ना गरिसकेका छन्। एकमुस्ट भर्ना गरे पनि तालिम भने छुट्टाछुट्टै दिइएको छ। १० दिन तालिम दिएर निर्वाचन प्रहरीलाई एक महिनाका लागि खटाइएको छ। सशस्त्र प्रहरीले पनि १५ हजार बढी निर्वाचन प्रहरी भर्ना गरेको छ। उनीहरूले भने ड्युटी पनि सशस्त्र प्रहरीसँगै गर्नेछन्।

यसअघि विमानस्थल, कारागार लगायत विभिन्न स्थानको सुरक्षामा खटिएका प्रहरी पनि निर्वाचनको समयमा मतदानस्थलमा खटिनेछन्। यी स्थानको सुरक्षा जिम्मा नेपाली सेनालाई हस्तान्तरण भइरहेको छ। मत परिणाम सार्वजनिक भएर सुरक्षा अवस्था समान्य बनेसँगै प्रहरी पुनः आआफ्नो जिम्मेवारीमा फर्किने छन्।