महाशिवरात्रिमा आएका साधुसन्तलाई उपहारमा २१ प्रकारका कोशेली दिइने

112
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने साधुसन्तलाई प्रदान गरिने सामग्रीको सङ्कल्प गरेका छन्।

प्रत्येक वर्ष फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिमा विश्वका विभिन्न स्थानबाट पशुपतिनाथ आउने साधुको बिदाइमा दिइने सामग्री एकादशीका दिन बिहान सङ्कल्प गर्ने परम्परा छ।

सङ्कल्पमा लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणासहित २१ प्रकारका सामग्री समावेश गरिएको गुठी संस्थानका प्रवक्ता एवं कानुन अधिकृत जनक पोखरेलले जानकारी दिए। सङ्कल्प गरिएको सामग्री मूल साधुलाई दिने गरिएको छ।

संस्थानको स्थापना भएदेखि नै महाशिवरात्रिका अवसरमा पशुपतिमा आउने साधुसन्तको धुनी, खाना र बिदाइस्वरुप दक्षिणाको व्यवस्थाको जिम्मेवारी पूरा गर्दै आएको छ।

पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि फागुन कृष्ण एकादशीदेखि औँसीसम्म धुनीका लागि दाउरा, खाना र बिदाइका बेला दक्षिणा दिने परम्परा छ। साधुको बिदाइ औँसीका दिन गरिन्छ।

साधुसन्त आआफ्नो सम्प्रदायअनुसारका अखडामा बस्ने गर्छन्। करिब तीन हजारभन्दा बढी साधुसन्त पशुपतिमा आइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। चार सयभन्दा बढी नागाबाबा भने पशुपतिनाथको मूल मन्दिर परिसरमा बस्ने कोषले जनाएको छ।

आज बिहानदेखि नागाबाबा पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गरेको संस्थानले जनाएको छ। औँसीका दिन बिदाइ नभएसम्म मूल मन्दिरभित्रै नागाबाबा बस्न पाउने परम्परा छ।

साधुसन्तलाई प्रदान गरिने धुनी, खाना र दक्षिणाको सङ्कल्प एकादशीकै दिन राष्ट्राध्यक्षले गर्ने परम्परा प्राचीनकालदेखि रहिआएको छ। यसबाहेक कोषले पनि धुनी, खाना र बिदाइका लागि बेग्लै व्यवस्था गर्छ। कोष स्थापना हुनुअघि संस्थानले सबै व्यवस्था गर्ने गरेको थियो।

प्रत्येक वर्ष महाशिवरात्रिमा पशुपतिमा भक्तजनको सङ्ख्या बढ्न थालेपछि स्थापनासँगै कोषले पनि साधुसन्तका लागि धुनी, खाना र बिदाइमा बजेट विनियोजन गर्न थालेको हो।

पशुपतिनाथ मूल मन्दिरभित्र रहेका नागाबाबा, गोरखनाथ, निर्मल अखडा, भष्मेश्वर घाटअघिको अखडा, राममन्दिरलगायत स्थानमा संस्थानका तर्फबाट आज बेलुकीदेखि धुनीका लागि दाउरा, खानाको व्यवस्थासमेत गरिने प्रवक्ता पोखरेलले जानकारी दिए।

त्यसैगरी, थापाथलीको गोरखनाथ, वैरागी, सन्यासी र उदासी अखडाका साधुसन्तलाई भने फागुन कृष्ण द्वादशी अर्थात् शनिबारदेखि खाना र धुनीका लागि दाउराको व्यवस्था गरिन्छ। गुठी संस्थानले साधुसन्तका लागि धुनी, खाना एवं दक्षिणा दिई बिदाइ गर्न रु ४० लाख बजेट विनियोजन गरेको जनाएको छ।