पाल्पा सिमेन्टले फागुन १२ गतेदेखि आईपीओ निष्काशन गर्दै


काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीजले फागुन १२ गतेदेखि सर्वसाधरणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूको लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशत अर्थात ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये जारी पूँजीको ५ प्रतिशत अर्थात १८ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १८ लाख ७५ हजार कित्ता साधारण सेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि, ५ लाख ६२ हजार ५०० कित्ता विदेशमा काम गरिरहेका नेपालीहरूको लागि, २ लाख ८१ हजार २५० कित्ता सामूहिक लगानी कोषहरूका लागि र अन्य २ लाख ८१ हजार २५० कित्ता सेयर कम्पनीका कर्मचारीहरूको लागि बाँडफाँट गरि बाँकी रहेको ४५ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूको लागि निष्काशन गर्न लागेको हो ।

फागुन १५ गते देखि २६ गतेसम्म खुला हुने यो आईपीओ मा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेट रहेको छ ।