रिज लाइन इनर्जीको आईपीओ आवेदन दिदैँ हुनुहुन्छ ? यस्तो छ कम्पनीको अवस्था ?


काठमाडौं । रिज लाइन इनर्जीले आज माघ २८ (बुधबार) देखि सर्वसाधरणका लागि आईपीओ निष्कासन खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीआो निष्काशन तथा बाँडफाँट गरिसकेको छ । अब दोस्रो चरणमा सर्वसाधरण लगानीकर्ताका लागि १४ लाख २२ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी १ अर्ब १८ करोड ५० लाखको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण सेयर सर्वसाधरणका लागि निष्कासन गर्न विवरणपत्र स्वीकृत गराएको थियो ।

कम्पनीले सार्वजनिक निष्कासन गर्न स्वीकृति लिएकोमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात ११ करोड ८५ लाख रुपैयाँ बराबरको ११ लाख ८५ हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरि बाँडफाँट गरिसकेको छ । त्यस्तै जारी पुँजीको १२ प्रतिशतले हुने १४ करोड २२ लाख रुपैयाँ बराबरको १४ लाख २२ हजार कित्ता सेयर भने सर्वसाधरणका लागि निष्कासन गर्न विवरणपत्र स्वीकृत गराएको थियो ।

जसमध्येबाट १० प्रतिशत अर्थात १ करोड ४२ लाख २० हजार रुपैयाँ बराबरको १ लाख ४२ हजार २०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरि बाँडफाँट गरिसकेको छ । यस्तै कम्पनीले २८ हजार ४४० कित्ता सेयर कर्मचारीका लागि र ७१ हजार १०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

बाँकी रहेको ११ लाख ८० हजार २६० कित्ता सेयर सेयर सर्वसाधारणको लागि निष्कासन गर्न लागेको हो । माघ २८ गते बिक्री खुला भएको आईपीओ निष्काशन छिटोमा फागुन ४ गते र ढिलोमा फागुन १३ गत बन्द हुनेछ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीले आईपीओ निष्काशनको लागि गरिएको रेटिङ कम्पनी केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमै वित्तीय दायित्व भुक्तानीका सन्दर्भमा मध्यम जोखिम रहेको संकेत गर्छ ।

२०७३ माघ १० गते जलश्रोतको उपयोग गरी जलविद्युत आयोजनाहरुको पहिचान गरी सम्भाव्यता अध्ययन, निर्माण र सञ्चालन गर्ने भन्दै रिज लाइन इनर्जी प्राइभेट कम्पनी लिमिटेडको रुपमा कम्पनी रिजष्ट्रार कार्यालयमा दर्ता भएको थियो । कम्पनीले २०७८ जेठ ७ गते विद्युत उत्पादनको अनुमति पाएको थियो । २०७९ मा पब्लिक लिमिटेड कम्पनीमा परिणत भई रिज लाइन इनर्जी लिमिटेडको नामबाट कारोबार सञ्चालन गर्दै आएको छ।

गोरखाको अजिरकोट गाउँपालिका वडा नं. २ र लमजुङको दुधपोखरी गाउँपालिका वडा नं. १ मा रहेको चेपेखोलामा कम्पनीले सुपर चेपे जलविद्युत आयोजनाबाट ९.०५ मेगावाट जलविद्युत उत्पादन गरिररहेको छ । उक्त आयोजना नदि प्रवाहमा आधारित रहेको छ ।

२०७३ मा निर्माण सुरु गर्नेगरी दर्ता भएको कम्पनीले आफ्‌नो व्यवसायिक उत्पादन भने २०८० माघ ८ गतेबाट सुरु गरेको थियो । यस आयोजनाको प्रसारण लाइन सञ्चालनका लागि २०७५ पुष ०८ गते अनुमति प्राप्त भएको थियो।

उक्त अनुमति २११३/०२/०६ सम्म बहाल रहने छ । सो आयोजनाबाट कम्पनीले विद्युत उत्पादनबाट गर्न पाउने अवधि अझै ३० वर्ष ११ महिना बाँकी रहेको विवरण पत्रमा उल्लेख छ ।

कम्पनीले चेपे जलविद्युत आयाजनोबाट उत्पादन भएको विद्युत खरिद बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसँग २०७५ चैत्र १९ मा खरिदबिक्री सम्झौता गरेको थियो । सम्भौता भएको करिब ५ बर्षपछि कम्पनीले विद्युत उत्पालन गरि राष्ट्रिय प्रसारण लाइनमा जडान गरि बिक्री गरिरहेको छ ।

यस आयोजनाको सबस्टेसनसम्मको प्रसारण लाइनको लम्बाइ १९.३२ किलोमिटर रहेको छ । आयोजनाको भोल्टेज लेभल उच्चमा ३३ के.भी. र न्युनमा ३३ के.भी. रहेको कम्पनीको सार्वजनिक विवरण पत्रमा उल्लेख छ ।

रन अफ रिभर प्रकृतिको यस आयोजनाको निर्माण लागत २ अर्ब ४ करोड ५० लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २३ करोड १६ लाख ३ हजार रुपैयाँ छ ।

२ अर्ब भन्दा बढी लगानी रहेको कम्पनीको वित्तीय विवरण हेर्दा आम्दानी, नेटवर्थ तथा नाफामा क्रमिक सुधार आएको देखिन्छ। सार्वजनिक गरिएको संक्षिप्त वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म कम्पनीको वित्तीय अवस्था क्रमशः सुधार आउदै गएको देखिन्छ।

संक्षिप्त वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० मा कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५७ पैसा रहेको । त्यस्तै २०८०/८१ मा १२ रुपैयाँ ३० पैसा र २०८१/८२ मा ७ रुपैयाँ ९२ पैसा रहेको छ। यस्तै, प्रति सेयर नेटवर्थ पनि २०७९/८० मा १३६.६९ रुपैयाँ हदा २०८०/८१ मा १२६.३९ रुपैयाँ र २०८१/८२ मा १३१.३६ रुपैयाँ रहेको छ।

यसैगरी, नाफा पनि पछिल्लो ३ वर्षमा सकारात्मक देखिएको छ । विवरण पत्र अनुसार आर्थिक वर्ष २०७९/८० मा कम्पनीको कुल आम्दानी ५ करोड ६२ लाख रुपैयाँ रहेको छ । सो वर्ष कम्पनीले ५१ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको देखिन्छ ।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आम्दानी बढेर १३ करोड ७४ लाख ८४ हजार पुगेको छ भने खुद नाफा ७ करोड ४३ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले सञ्चालनबाट २७ करोड ७६ लाख ४९ हजार रुपैयाँभन्दा बढी आम्दानी गरेको छ। सो वर्ष कम्पनीले खर्च, वित्तीय लागत, कर्मचारी बोनस तथा अन्य व्यवस्थापन खर्च कटाएर ७ करोड करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ।

समग्रमा कम्पनीको सञ्चालन आम्दानी क्रमसः बढ्दै गएको छ भने व्यवस्थापन खर्च नियन्त्रणमा रहेको देखिन्छ । जसका कारण कम्पनीको नाफा पनि हालसम्म क्रमिक रुपमा वृद्धि बृद्धी भइरहेको देखिएको छ ।

यस आयोजनाले आगामी वर्षहरुमा पनि उल्लेख्य आम्दानी गरेर नाफा आर्जन गर्ने प्रक्षेपण गरेको छ । कम्पनीले २०८२/८३ मा ८.०२ रुपैयाँ, २०८३/८४ मा १८ करोड ३ लाख रुपैयाँ सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ ।

कम्पनीमा ५१० जना संस्थापक सेयरधनी छन् । विज्ञान, ईन्जिनियरिङ तथा वित्तीय व्यवस्थापन जस्ता क्षेत्रका अनुभविले यसमा लगानी गरेका छन् । कम्पनीका संस्थापक सेयरधनी रेवन्त कुमार रावतले ३ लाख ९० हजार ७८५ कित्तासेयर लगानी गरेका छन् । उनले लामो समयदेखि ईन्जिनियरिङ क्षेत्रमा व्यावसायिक अनुभव हासिल गर्दै आएका छन्। ईन्जिनियरिङ क्षेत्रमै लामो समय अनुभव बटुलेका ओपेन्द्र हमालले ३ लाख ५१ हजार ३७९ कित्ता सेयर लगानी गरेका छन् ।

अर्का संस्थापक सेयरधनी राजेन्द्र कुमार बिसीको कम्पनीमा २ लाख ५२ हजार कित्ता सेयर स्वामित्व रहेको छ । उनको पनि ईन्जिनियरिङ क्षेत्रमा अनुभव रहेको छ ।

त्यसैगरी प्रतिमा तिवारीले २ लाख ५० हजार कित्ता र नारायण कडेलले २ लाख ५ हजार ३२२ कित्ता सेयर स्वामित्वमा राखेका छन्। कम्पनीमा ०.५ प्रतिशतभन्दा धेरै सेयर रहेका आधारभुत सेयरधनीको संख्या २४ रहेको छ ।