भृकुटीमण्डपका संरचनाको बक्यौता उठाउँदै सरकार


काठमाडौं । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले भृकुटीमण्डपका संरचनाले नतिरेको रकम उठाउने पहल सुरु गरेको छ ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्री श्रद्धा श्रेष्ठले भृकुटीमण्डपस्थित समाज कल्याण परिषद्का संरचनाको बाँकी बक्यौता उठाउन व्यापारी तथा संघ-संस्थालाई तत्कालै पत्र काट्ने बताएकी हुन् ।

भृकुटीमण्डपको अवलोकन गरेपछि उनले भनिन्, ‘कतिपय संरचनाको बक्यौता बाँकी छ भन्ने सुनेका थियौँ, त्यो समस्या आफैँले थाहा पायौँ, बाँकी बक्यौता तिर्नका लागि पत्र काट्दै छौँ ।’

मन्त्री श्रेष्ठले भाडा सम्झौता नवीकरणका क्रममा समयानुकूल भाडादर तय गरिने स्पष्ट पारिन् ।

उनले भनिन्, ‘सरकारी दरअनुसार सस्तो भाउमा नदिइकन, केही नाफा हुनेगरी भाडामा लगाउने हाम्रो सोच छ ।’

बक्यौता बाँकी भएकाको सूची तयार भइसकेको उनको भनाइ छ । व्यापारिक प्रयोजनका लागि भाडा लिइएकाबाट बक्यौता उठाउन सुरु गरिनेछ ।

भृकुटीभण्डपका संरचनाको भाडासम्बन्धी विषयमा यसअघि समाजकल्याण परिषद्मा पनि छलफल भएको जानकारी दिँदै मन्त्री श्रेष्ठले विस्तृतमा अवलोकन गरिएको बताइन् ।