
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह (बालेन) को घरमा चोरी भएको छ ।
काठमाडौंको मण्डिखाटारस्थित घरमा बालेनको घरमा चोरी भएको हो । शुक्रबार साँझ साढे ६ बजेतिर उनको घरमा चोरी भएको जानकारी प्राप्त भएपनि चोरी कहिले भएको हो भन्ने बिषयमा अहिले यकिन भएको छैन ।
बालेनको मामा ससुराका छोराले घरमा चोरी भएको जानकारी पाएपछि प्रहरीलाई जानकारी दिएका थिए । उनले घरमा पुगेर नियमित रूपमा घरमा बत्ती बाल्ने, निभाउने र बिरुवामा पानी हाल्न जाने जस्ता काम गर्दै आएको बताइएको छ ।
शुक्रबार साँझ घरमा प्रवेश गर्दा मूल ढोका फोडिएको र सामानहरू तितरबितर भएको देखेपछि उनले प्रहरीलाई खबर गरेका थिए।
चोरले बालेनको घरबाट सुनका गरगहनासहित नगद र केही थान चरेसका थाल चोरेर लगेको स्रोतले जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसारचोरहरूले घरमा जडान गरिएका २(३ वटा सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर (डीभीआर) मेसिन र बाथरुम तथा भान्साका धाराका टुटीहरू समेत चोरेर लगेका छन्। थप सामान चोरी भएको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ।
खड्काले घटनाको पुष्टि गर्दै एक इन्स्पेक्टरको नेतृत्वमा विशेष टोली बनाएर अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुमान अनुसार चोरहरू पर्खाल नाघेर घरभित्र प्रवेश गरेका थिए। सिसीटिभी फुटेज र अन्य प्राविधिक पक्षको अध्ययन गर्दा यो काम ‘प्रोफेसनल’ चोरहरूको समूहले गरेको हुन सक्ने देखिएको प्रहरीको भनाइ छ। घटना गत १४ गतेदेखि हिजो साँझको बीचमा भएको हुनसक्ने प्रहरीको भनाइ छ।
झापा–५ मा प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएका बालेन चुनावी प्रचारका लागि पश्चिम नेपालको यात्रामा छन् । चुनावी कार्यक्रममा सहभागी हुनका लागि जुम्लासम्म पुग्ने योजना भएपनि घरमा भएको चोरीका कारण उनी जुम्लाको कार्यक्रम स्थगित गरेर काठमाडौं फर्किएका छन् ।
घटनाबारे जानकारी भए पनि साहकै घर असुरक्षित भएको सन्देश सार्वजनिक रूपमा जान सक्ने भन्दै उक्त घटनालाई गोप्य राखिएको स्रोतले जनाएको छ । प्रहरी टोली चोरी घटनाको मुचुल्का उठाएको छ ।








प्रतिक्रिया