
काठमाडौं । अल्पविकसित मुलुक (एलडीसी) बाट विकासशील मुलुकमा स्तरोन्नति भएपछि नेपालका प्रमुख निर्यात क्षेत्र गम्भीर चुनौतीमा पर्ने देखिएको छ।
विश्व व्यापार संगठन (डब्ल्युटिओ) र विभिन्न अध्ययनले गार्मेन्ट, टेक्सटाइल, कार्पेटलगायत परम्परागत निर्यात वस्तुमा १० देखि २५ प्रतिशतसम्म गिरावट आउन सक्ने चेतावनी दिएका छन्।
नेपाल आगामी २४ नोभेम्बर २०२६ मा बङ्गलादेश र लाओससँगै विकासशील मुलुकमा स्तरोन्नति हुँदैछ।
स्तरोन्नतिसँगै नेपालले हाल पाउँदै आएको भन्सार छुट, कोटा–मुक्त बजार पहुँच तथा विशेष व्यापार सहुलियत गुमाउनेछ। यसले स्वदेशी उत्पादनको लागत बढ्ने र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा कमजोर हुने सरोकारवालाको निष्कर्ष छ।
गार्मेन्ट–टेक्सटाइल सबैभन्दा बढी जोखिममा
डब्ल्युटिओका अनुसार स्तरोन्नतिपछि नेपालका गार्मेन्ट र टेक्सटाइल निर्यात १० देखि २० प्रतिशतसम्म घट्न सक्छ, जसको औसत गिरावट १३.३ प्रतिशत हुने अनुमान गरिएको छ।
दक्षिण एशिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड एनभाइरोन्मेन्ट (साउती) को अध्ययनले भने यी क्षेत्रको निर्यात ४.३ प्रतिशतले घट्ने देखाएको छ।
अध्ययनअनुसार स्तरोन्नतिपछि गार्मेन्ट र टेक्सटाइलमा ६।७ प्रतिशत भन्सार महसुल वृद्धि हुने भएकाले गार्मेन्ट उद्योग सबैभन्दा बढी प्रभावित हुने देखिन्छ।
कार्पेटदेखि जडीबुटीसम्म असर
डब्ल्युटिओले गार्मेन्ट–टेक्सटाइल मात्र नभई कार्पेट, हाते शिल्प, पशुजन्य उत्पादन, जडीबुटी, फलाम तथा धातुजन्य सामग्री, आयातमा आधारित प्रशोधित वस्तु र सेवा निर्यातमा समेत नकारात्मक असर पर्ने जनाएको छ।
विशेषगरी अमेरिका र युरोपेली सङ्घ प्रमुख बजार रहेका कार्पेटको निर्यात ८ देखि १५ प्रतिशतसम्म घट्ने अनुमान गरिएको छ। हाते शिल्प, पशुजन्य उत्पादन र जडीबुटीको निर्यात १० देखि १८ प्रतिशतसम्म, फलाम तथा धातुजन्य सामग्रीको निर्यात ३ देखि ८ प्रतिशतसम्म, र आयातमा आधारित प्रशोधित उत्पादनको निर्यात १२ देखि २५ प्रतिशतसम्म घट्न सक्ने आँकलन गरिएको छ।
निर्यात तथ्याङ्कले देखाउँछ निर्भरता
भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा नेपालले
– ४ अर्ब ५९ करोड ४० लाख रुपैयाँ बराबरको तयारी गार्मेन्ट
– १ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ बराबरको टेक्सटाइल निर्यात गरेको छ।
यसअघि आर्थिक वर्ष २०८१/८२ मा
– तयारी गार्मेन्ट ८ अर्ब ७५ करोड रुपैयाँभन्दा बढी
– टेक्सटाइल ३ अर्ब ८ करोड रुपैयाँभन्दा बढी निर्यात भएको थियो।
गार्मेन्ट मुख्यतः अमेरिका र युरोपेली सङ्घ, जबकि टेक्सटाइल भारतमा निर्यात हुँदै आएको छ।
सरकार–निजी क्षेत्रको साझा चुनौती
साउती र तयारी पोसाक सङ्घले आयोजना गरेको ‘गार्मेन्ट निर्यातको प्रतिस्पर्धा, चुनौती र अगाडिको बाटो’ विषयक नीति संवादमा वक्ताहरूले स्तरोन्नतिपछि समग्र निर्यात व्यापारमा गहिरो असर पर्ने बताएका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे ले गार्मेन्ट मात्र नभई सम्पूर्ण निर्यात क्षेत्र प्रभावित हुने बताए।
तुलनात्मक लाभ भएका गार्मेन्ट र टेक्सटाइलमा सरकार–निजी क्षेत्रको सहकार्य बढाएर निर्यात विस्तार गर्न सकिने उनको भनाइ छ। भन्सार सहजीकरण र उत्पादनको प्रतिस्पर्धी क्षमता वृद्धि गरेर व्यापार लागत घटाउन सकिने उनले उल्लेख गरे।
साउतीका कार्यकारी निर्देशक डा पारश खरेल ले उच्च लजिस्टिक लागत, दक्ष जनशक्तिको अभाव र महँगो उत्पादन लागत निर्यात घट्नुका प्रमुख कारण भएको बताए।
व्यापार प्रवर्द्धन तथा निकासी केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले उत्पादन बढाउन सरकार र निजी क्षेत्रबीच स्पष्ट कार्ययोजना आवश्यक रहेको धारणा राखे।
व्यापार विज्ञ रविशङ्कर सैजू ले स्तरोन्नतिपछि गार्मेन्ट, कार्पेट र कृषि उत्पादनजस्ता परम्परागत निर्यातमा ठूलो असर पर्ने भएकाले नयाँ बजार खोजी अपरिहार्य भएको बताए।
तयारी पोसाक सङ्घका अध्यक्ष पशुपतिदेव पाण्डे ले दक्ष जनशक्ति अभाव र उच्च लागतका कारण गार्मेन्ट उद्योग दबाबमा परेको उल्लेख गरे।








प्रतिक्रिया