
विराटनगर । कोशी प्रदेशमा धान खेती हुने क्षेत्रफल हरेक वर्ष घट्दो क्रममा छ । धान खेत घटेसँगै प्रदेशमा उत्पादन पनि सालैपिच्छे ओरालो लाग्दा धान र चामलमा परनिर्भरता बढ्दै गएको छ ।
विगतमा लहलह धान झुल्ने तराईका फाँटमा अहिले महल ठडिनु, प्लटिङ गरेर वर्षौंदेखि जग्गा बाँझै राखिनु, पहाडी क्षेत्रमा जंगली जनावरका कारण खेती गर्न छाड्नु र वैदेशिक रोजगारीका कारण युवा जनशक्तिको अभावमा खेतीयोग्य जमिन बाँझै रहनुले प्रदेशमा धान लगायतका प्रमुख खाद्यान्न बालीको क्षेत्रफल घट्दै गएको विज्ञहरूको बुझाइ छ ।
तथ्यांक अनुसार डेढ दशकको अवधिमा कोशीमा झण्डै १ लाख ६ हजार हेक्टर धान खेती घटेको छ । कोशी प्रदेशका १४ जिल्लामा दुई दशक अघिसम्म ३ लाख ७६ हजार हेक्टरमा धान खेती हुन्थ्यो । त्यस बेला साढे १६ लाख टनसम्म धान उत्पादन भएको तथ्यांक छ ।
अहिले प्रदेशको धान खेती २ लाख ६९ हजार ६८४ हेक्टरमा सीमित हुँदा उत्पादन पनि घटेर ११ लाख २९ हजार ९४९ टनमा झरेको छ ।
प्रदेश कृषि निर्देशनालयको तथ्यांक अनुसार दुई दशकको अवधिमा कोशी प्रदेशमा एक लाख ६ हजार हेक्टर धान खेत घटेको देखिन्छ । खेतीयोग्य जमिन घटेसँगै उब्जनी पनि घट्दा खाद्यान्नमा परनिर्भरता बढ्दो छ ।
कृषि विज्ञ डा. राजेन्द्र उप्रेतीका अनुसार अन्नको भण्डार मानिने तराईका जिल्लामा खेतीयोग्य जमिन घडेरीमा परिणत गरिँदा र पहाडी जिल्लामा जमिन बाँझो राख्ने प्रवृत्ति बढेसँगै कोशी प्रदेशमा करिब एक लाख हेक्टर खेतीयोग्य जमिन घटेको हो । ‘त्यसमध्ये आधा खेतीयोग्य जमिनमा घर बनेका छन् भने आधा बाँझै रहँदा धान खेत घटेको हो,’ उनले भने, ‘अझ समयमा पानी नपर्दा खेत बाँझै रहने समस्याले थप चुनौती सिर्जना गरेको छ ।’
तराईमा धान खेतीको पकेट क्षेत्र मानिएका मोरङ, सुनसरी र झापामा क्षेत्रफल बढी घटेको छ । मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो समय मोरङमा २९ हजार, सुनसरीमा १३ हजार र झापामा १७ हजार हेक्टर धान खेत घटेको छ ।
आर्थिक वर्ष २०६२/६३ अघि मोरङमा ९८ हजार हेक्टरमा धान खेती हुन्थ्यो, जुन अहिले घटेर ६९ हजार ४६७ हेक्टरमा सीमित भएको छ । त्यसैगरी सुनसरीमा ६१ हजारबाट ४८ हजार हेक्टरमा झरेको छ भने झापामा ९२ हजार हेक्टरमा धान खेती हुँदै आएकोमा अहिले ७५ हजार ४५९ हेक्टरमा सीमित भएको छ ।
पहाडी क्षेत्रमा मजदुर अभाव र कृषि उपकरणको पहुँच नपुग्दा खेतबारी बाँझो राख्ने प्रवृत्ति बढेको छ भने तराईका जिल्लामा हरेक वर्ष खेतीयोग्य जमिन प्लटिङ गर्ने चलन बढ्दो छ । धान विशेषज्ञ डा. उप्रेतीले यही अवस्था कायम रहे कोशी प्रदेशको कृषि उपजमा बाह्य निर्भरता अझै बढ्ने खतरा रहेको औंल्याए । प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा समग्र कृषि क्षेत्रको योगदान ३६ प्रतिशत र धानको योगदान १९ प्रतिशत छ ।
धान खेती गर्ने जमिन घटेसँगै कोशी प्रदेशमा धानको उत्पादन हरेक वर्ष घट्दो छ । गत आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालु आर्थिक वर्षमा करिब ५२ हजार २७२ टनले उत्पादन घटेको प्रदेश कृषि निर्देशनालयको तथ्यांक छ ।
निर्देशनालयका अनुसार गत वर्ष प्रदेशमा ११ लाख ८२ हजार २२१ टन धान उत्पादन भएकोमा चालु वर्षमा ११ लाख २९ हजार ९४९ टन मात्र उत्पादन भएको छ । धान खेत घट्नुका साथै रोपाइँका बेला खडेरी पर्नु र काट्ने बेलामा अत्याधिक वर्षा हुनु उत्पादनमा आएको गिरावटको मुख्य कारण भएको कृषि निर्देशनालय कोशी प्रदेशले जनाएको छ ।
गत वर्ष कोशीमा २ लाख ७५ हजार २६८ हेक्टर क्षेत्रमा धान खेती भएकोमा चालु वर्ष २ लाख ६९ हजार ६८४ हेक्टरमा मात्र खेती भएको थियो । कृषि निर्देशनालयका अनुसार धान उत्पादनका लागि पकेट क्षेत्र मानिएका मोरङ, झापा र सुनसरी जिल्लामै धान उत्पादन घटेको छ, जसका कारण कोशीको कुल उत्पादनमै असर परेको हो ।
झापामा यो वर्ष करिब २८ हजार टन उत्पादन घटेको छ । गत वर्ष ३ लाख ८२ हजार ८१२ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष ३ लाख ५४ हजार ३५१ टन मात्रै उत्पादन भएको छ । मोरङमा गत वर्ष ३ लाख ३९ हजार टन धान उत्पादन भएकोमा यस वर्ष ३ लाख ३६ हजार ९२० टन उत्पादन भएको छ । त्यसैगरी सुनसरीमा गत वर्ष २ लाख १७ हजार टन उत्पादन हुँदा यस वर्ष २ लाख ११ हजार ६०८ टनमा झरेको कृषि निर्देशनालयको आँकडा छ ।
हरेक वर्ष धान खेत घटेसँगै कोशी प्रदेशमा भारतबाट धान, चामल, गहुँ र मकै आयात हुने क्रम बढ्दो छ । भन्सारको तथ्यांक अनुसार चालु वर्षको ४ महिनामा प्रदेशका जोगबनी र काँकडभिट्टा नाकाबाट १ अर्ब ५४ करोड रुपैयाँ बराबरको चामल आयात भएको छ । चामल आयात गत वर्षको तुलनामा दोब्बर पुगेको छ ।
गत आर्थिक वर्षको यही अवधिमा जोगबनी नाकाबाट ७३ करोड ३० लाख मूल्य बराबरको १६ हजार ८ सय टन चामल आयात भएकोमा यस वर्ष १ अर्ब ३२ करोड ४४ लाखको ३० हजार ८ सय टन चामल आयात भएको छ । यस्तै, चालु आर्थिक वर्षको चार महिनामा काँकडभिट्टा नाकाबाट २२ करोड मूल्यको चामल आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १५ करोडको चामल आएको थियो ।
नेपालको तुलनामा भारतमा चामल सस्तो पाइन्छ र आयात गर्दा कृषि सेवा शुल्क पनि कम लाग्छ । त्यसैले यहाँका उद्योगले भारतबाट चामल आयात गरेर आफ्नो उद्योगका नाममा प्याकिङ गरी बेच्ने गरेका छन् । चालु आर्थिक वर्षको चार महिनामा जोगबनी नाकाबाट १ अर्ब १० करोड २७ लाख मूल्यको ४० हजार टनभन्दा बढी धान आयात भएको छ । गत वर्ष सोही अवधिमा १ अर्ब ३३ करोडको धान आयात भएको थियो ।








प्रतिक्रिया