
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार (आज) ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।
वित्तीय प्रणालीमा रहेको अत्यधिक तरलता प्रशोचन गरी ब्याजदरलाई सन्तुलन कायम गर्न तरलता प्रशोचन गर्न लागेको हो । सोही कारण आइतबार ८६ दिनको लागि ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्न लागेको हो ।
आइतबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत उक्त तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि पछिल्लो ३ वर्षदेखि केन्द्रीय बैंकले निरन्तर तरलता प्रशोचन गर्दै आएको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमा ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयनको लागि निक्षेप संकलन उपकरण बोलकबोलका साथै स्थायि निक्षेप सुविधा पनि उपलब्ध गराउने घोषणा गरेको थियो । केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा स्थायि निक्षेप सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।
राष्ट्र बैंकको २ मंसिरको तथ्यांकअनुसार ८ खर्ब ४४ अर्ब ८५ करोड रुपैयाँ प्रशोचन गरेको तरलता मौज्दात छ ।
रेमिट्यान्समा भएको उच्च वृद्धि र आयात व्यापार अपेक्षित बढ्न नसक्दा भुक्तानी सन्तुलन र चालु खाता पछिल्लो ३ आर्थिक वर्षदेखि लगातार बचतमा छ । जसले गर्दा बैंकहरुको निक्षेपको तुलनामा कर्जाको वृद्धिदर निरन्तर उच्च छ । बैंकहरुले अपेक्षित कर्जा बढाउन नसक्दा तरलताको चाप बढ्दै गएको छ ।
निक्षेप संकलन बोलकबोलका साथै स्थायी निक्षेप सुविधामार्फत तरलता प्रशोचन गर्दै अन्तरबैंक ब्याजदरलाई एउटा सिमाभित्र राख्ने प्रयासमा केन्द्रीय बैंक छ । तर, पनि बैंकहरुले निक्षेपको ब्याजदर निरन्तर घटाइरहेका छन् ।
केन्द्रीय बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा छोटो अवधिको लागि स्थायी निक्षेप सुविधा उपलब्ध गराइरहेको छ । त्यस्तै मध्यम अवधि र केही लामो अवधिको लागि तरलता प्रशोचन गर्न निक्षेप संकलन बोलकबोलको प्रयोग गरीरहेको छ ।
तरलता बढी भएसँगै केन्द्रीय बैंकले लामो अवधिका लागि बजारबाट पैसा संकलन गर्दै आएको हो । निक्षेप संकलनका लागि न्यूनतम १० करोड रुपैयाँ र अधिकतम सीमा तोकिएअनुसार ५ करोड रुपैयाँका गुणकमा बोलकबोल गर्न सकिनेछ ।
बोलकबोल ब्याजदरका आधारमा गर्नुपर्नेछ भने, बहुब्याजदरका प्रस्तावहरू पनि मान्य हुने केन्द्रीय बैंकले जनाएको छ । यसरी खरिद गरिएका निक्षेप संकलन उपकरणहरू अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था पनि राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ।







प्रतिक्रिया