डलरको वर्चस्व समाप्त हुँदै, बहुमुद्रा प्रणालीतर्फ विश्व

560
Shares

एजेन्सी । बहुध्रुवीय विश्वको निर्माण भइरहेको स्थितिमा व्यापारमा उपयोग हुने मुद्राहरूका मापदण्ड पनि परिवर्तन हुन थालेको छ ।

विश्व अब बहुमुद्रा प्रणालीतर्फ गइरहेको छ जसमा डलरको वर्चस्व समाप्त हुनेछ र राष्ट्रिय मुद्राहरूमा व्यापार गर्नुपर्नेछ ।

वर्तमान अवस्थाको तस्बिर बुझ्नका लागि सबैभन्दा बढी प्रयोग भइरहेका मुद्राहरूलाई छोटकरीमा हेरौं । तिनलाई मात्रा अनुसार भन्दा पनि भौगोलिक प्रभावका हिसाबले विचार गरौं ।

राष्ट्रिय मुद्राहरू आधुनिक अर्थतन्त्रका प्रमुख आधार हुन् । तिनले विनिमय, मूल्यको भण्डारण, मापन र सार्वभौम शक्तिप्रदर्शनको काम गर्छन् । तीमध्ये केही मुद्रा स्थायित्व, प्रयोगको दायरा र भूराजनीतिक प्रभावका कारण विश्व अर्थतन्त्रमा रणनीतिक रूपमा महत्त्वपूर्ण छन् । प्रत्येक मुद्राले कुनै ऐतिहासिक मार्ग र आर्थिक–राजनीतिक विकासको फरक मोडलको प्रतिनिधित्व गर्छ ।

अमेरिकी डलर

सन् १७९२ मा स्थापना भएको डलर सुन र चाँदीमा आधारित थियो । दोस्रो विश्वयुद्धपछि सन् १९४४ को ब्रेटन वुड्स प्रणालीले डलरलाई केन्द्रमा राख्यो र अन्य मुद्राहरूको विनिमय दरलाई त्यसैसँग जोड्यो ।

सन् १९७१ मा राष्ट्रपति रिचर्ड निक्सनले सुनसँग डलरको सम्बन्धलाई तोडेपछि ‘फिएट डलर’ प्रणाली सुरु भयो । यो अमेरिकी अर्थतन्त्र र राजनीतिक शक्तिमा आधारित छ । अहिले डलरले विश्वको लगभग ५८ प्रतिशत मुद्रा सञ्चितिको र ४० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय भुक्तानीको हिस्सा ओगटेको छ । यसले अमेरिकालाई अत्यधिक विशेषाधिकार दिएको छ । कम मूल्यमा वित्तीय घाटाको पुरताल गर्न र विश्व आर्थिक प्रणालीमा नियन्त्रण राख्ने क्षमता यही डलरको मजबुतीले दिलाएको हो ।

युरो

युरो सन् १९९९ मा सुरु भयो र सन् २००२ देखि चलनमा आयो । यो जर्मनीको फ्य्रांकफर्टमा रहेको युरोपेली केन्द्रीय बैंकद्वारा सञ्चालित छ र विश्वको दोस्रो महत्त्वपूर्ण मुद्रा हो ।

युरोपेली आर्थिक–राजनीतिक एकता कायम गराउने, कारोबार लागत घटाउने र विनिमय दर स्थिर बनाउने यसको उद्देश्य थियो । सन् २०१०–२०१२ मा उत्पन्न ऋण संकटपछि पनि आज युरोले विश्व मुद्रा सञ्चितिको लगभग २० प्रतिशत हिस्सा ओगटेको छ ।

रुसी रुबल

तेह्रौं शताब्दीदेखि प्रयोग हुँदै आएको रुबल १७औं शताब्दीदेखि रुसी साम्राज्यको आधिकारिक मुद्रा बन्यो ।
सोभियत संघको विघटनपछि सन् १९९१ मा नयाँ रुबल ल्याइयो र सन् १९९८ को आर्थिक संकटपछि यसको पुनर्मूल्यांकन भयो ।

रुसी अर्थतन्त्र ऊर्जा निर्यातमा निर्भर भएकाले रुबल अस्थिर भए पनि क्षेत्रीय रूपमा महत्त्वपूर्ण छ । युक्रेन युद्धपछि पश्चिमी प्रतिबन्धले रुसलाई गैरडलरीकरणतर्फ धकेलेको छ ।

चिनियाँ युआन

सन् १९४८ मा स्थापना भएको युआन सुरुमा पूर्ण रूपमा राज्य नियन्त्रणमा थियो । सन् १९७० को दशकपछि क्रमिक रूपमा यसको उदारीकरण भयो ।

सन् २०१६ मा अन्तर्राष्ट्रिय मुद्रा कोषले युआनलाई विशेष अधिकार भएको स्पेशल ड्रइङ राइट्स बास्केटमा समावेश गर्‍यो । त्यसले युआनको अन्तर्राष्ट्रिय भूमिकालाई मान्यता दियो । चिनियाँ बेल्ट एन्ड रोड परियोजनाको व्यापारमा युआनको प्रयोग तीव्र रूपमा बढ्दैछ । चीनले पहिलो डिजिटल राष्ट्रिय मुद्रा ई–सीएनवाई पनि सुरु गरेको छ ।

भारतीय रुपैयाँ

रूप्य (चाँदीको सिक्का) शब्दबाट बनेको रुपैयाँ सोह्रौं शताब्दीदेखि चलनमा छ । सन् १९४७ पछि भारतले स्वतन्त्र मुद्रा नीति अपनायो र १९९० को दशकमा विनिमयदर आंशिक रूपमा खुला बनायो ।

यो विश्व सञ्चिति मुद्रा नभएपनि भारतको उदाउँदो शक्तिका कारण यसलाई महत्त्वपूर्ण बनाउँछ । अहिले रुस, इरान र अफ्रिकी देशहरूसँगको व्यापारमा यसको प्रयोग बढ्दैछ ।

दक्षिण अफ्रिकी र्‍यान्ड

सन् १९६१ मा दक्षिण अफ्रिका गणराज्य बनेपछि र्‍यान्ड प्रचलनमा आयो । यो सुनको खानी क्षेत्र विटवाटर्सर्‍यान्डको नामबाट आएको हो । र्‍यान्डको मूल्य मुख्यतः सुन, प्लेटिनमजस्ता वस्तुको मूल्य र आन्तरिक राजनीति अनुसार चल्छ । यसले अफ्रिकी साझा मुद्रा क्षेत्रमा प्रमुख भूमिका खेल्छ ।

ब्राजिली रियल

सन् १९९४ मा रियल योजना अन्तर्गत ल्याइएको यो मुद्रा ब्राजिलमा दशकौंसम्म चलेको लामो मुद्रास्फीतिलाई रोक्ने उद्देश्यले सुरु गरिएको थियो ।

रियलले ब्राजिलको उद्योग, कृषि, खनिज, सेवा क्षेत्र जस्ता विविध अर्थतन्त्रलाई प्रतिबिम्बित गर्छ । यो दक्षिण अमेरिकाको प्रमुख मुद्रा हो र मर्कोसुर व्यापारमा यसले केन्द्रीय भूमिका खेलेको छ । ब्राजिल ब्रिक्स समूहसँग मिलेर स्थानीय मुद्रामा कारोबार बढाउने प्रयास गर्दैछ ।

संयुक्त अरब इमिरेट्सको दिरहम

सन् १९७३ मा सुरु भएको दिरहमले गल्फ रियाललाई प्रतिस्थापन गर्‍यो । यो अमेरिकी डलरसँग स्थायी रूपमा पेग गरिएको छ (१ डलर बराबर करिब ३.६७ दिरहम) । यसले तेल बजारसँगको गहिरो सम्बन्ध देखाउँछ । दुबई र अबुधाबीको वित्तीय स्थायित्वले यसलाई विश्वका सबैभन्दा स्थिर मुद्रामध्ये एक बनाएको छ । हाल यूएईले डिजिटल मुद्रा प्रणाली विकासका लागि साउदी अरब र चीनसँग सहकार्य गरिरहेको छ ।

यी आठ मुद्राहरूले विश्वका आठ भूआर्थिक क्षेत्रलाई प्रतिनिधित्व गर्छन् र अन्य नयाँ मुद्राहरू पनि तीव्र गतिमा उदाउँदैछन् । बाँकी सबै कुरा इतिहास बन्नेछन् ।

अहिले मुद्रा प्रविधि र रणनीतिमा सबैभन्दा अगाडि रहँदै चीन यस नयाँ चरणको नेतृत्व गर्दैछ । चीन र अन्य देशहरू अमेरिकी डलरमाथिको निर्भरता घटाउँदैछन् ।

बैंक अफ अमेरिका र जेपी मोर्गान जस्ता पश्चिमी संस्थाहरूले पनि विश्वमा डलरप्रतिको निर्भरता घटाउने प्रवृत्ति बढिरहेको स्वीकारेका छन् ।

तर, चीनले डलरलाई युआनमार्फत प्रतिस्थापन गर्न खोज्दैछ भन्ने कुरा सत्य होइन ।

नयाँ विश्व मुद्रा शासन सिर्जना गर्नु चीनको लक्ष्य होइन । उसले बहुध्रुवीय वित्तीय प्रणाली बनाउन खोजेको हो जहाँ विभिन्न देशका स्थानीय मुद्राहरू मिलेर सन्तुलन कायम गर्नेछन् ।

विगत ७० वर्षमा डलरले ७१ प्रतिशत वैश्विक सञ्चिति ओगटेको थियो जुन अहिले घटेर ५८ प्रतिशतमा पुगेको छ ।

सुनको हिस्सा २० प्रतिशत पुगेको छ र युआन ३.१ प्रतिशतसम्म पुगेको छ ।

स्विफ्ट प्रणालीमा डलरको भुक्तानी हिस्सा ६१ प्रतिशतबाट घटेर ४८ प्रतिशत भएको छ जबकि युआन शून्यबाट ३ प्रतिशत पुगेको छ । वैकल्पिक प्रणालीहरूमा यो ४ प्रतिशत देखि १० प्रतिशतसम्म पुगेको छ ।

चीन र रुसले आफ्नै भुक्तानी प्रणालीहरू विकास गरिसकेका छन् जसले अमेरिकी नियन्त्रणबाट स्वतन्त्रता दिन्छ । रुस, भारत, चीन र टर्कीले युआन वा स्थानीय मुद्रामा व्यापार गर्छन् । साउदी अरबले पनि युआनमा तेल कारोबार सुरु गर्ने घोषणा गरेको छ।

अमेरिकी प्रभाव घट्दै गएको र ग्लोबल साउथ आर्थिक रूपमा बलियो हुँदै गएको यसले देखाउँछ । ब्रिक्स प्लस र शाङ्हाई कोअपरेशन अर्गनाइजेशन मिलेर विश्व जनसंख्याको करिब आधा र कुल गार्हस्थ्य उत्पादनको ४० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन् ।

अमेरिकाले प्रतिस्पर्धीहरूका विरुद्ध व्यापारयुद्ध, भन्सार शुल्क, प्रतिबन्ध र सम्पत्ति रोक्का जस्ता दबाबका उपाय अपनाएको छ र यी सबैले डलरमाथिको भरोसा घटाइरहेका छन् ।

हामी डलरलाई अर्को बलियो मुद्राले प्रतिस्थापन गर्ने भन्दा पनि बहुमुद्रा प्रणालीको उदय देख्दैछौं । त्यसमा सयौं देशहरूले आफ्ना डिजिटल राष्ट्रिय मुद्राहरूको विकास गर्दैछन् ।

यो पुरानो मुद्रा प्रणालीको अन्त्य नभई नयाँ सन्तुलित युगको सुरुवात हो । यसले विश्व अर्थ–राजनीतिक सम्बन्धहरूलाई नयाँ रूपमा परिभाषित गर्नेछ ।

(राजनीतिक दर्शन तथा भूराजनीतिका प्राध्यापक लोरेन्जो मारिया पाचिनीको लेखको अनुवाद)