
एजेन्सी । शुक्रबार विश्वका शक्तिशाली मुलुकका नेताहरू एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनमा सहभागी भएका छन् ।
सम्मेलनमा उनीहरूले विश्व व्यापारको अनिश्चितताबीच स्थायित्व बढाउने र वृद्धिलाई प्रोत्साहन दिने उपायहरू खोजिरहेका छन् ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले एपेक सदस्य अर्थतन्त्रहरूबीच सहयोग र एकताको आह्वान गरे ।
दुई दिनसम्म चल्ने यस सम्मेलनले २१ वटा एपेक सदस्य अर्थतन्त्रका नेताहरू, अतिथि राष्ट्रहरू र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याएको छ । यसमा स्वतन्त्र व्यापारलाई कायम राख्ने र क्षेत्रीय आर्थिक एकीकरणलाई सुदृढ पार्ने विषयहरू प्रमुख एजेन्डाका रूपमा रहेका छन् ।
पहिलो सत्र अझ बढी जडित, दृढ क्षेत्रतर्फ र त्यसपछाडि भन्ने शीर्षकअन्तर्गत सञ्चालन भएको छ । यस सत्रमा राष्ट्रपति लीले स्वतन्त्र व्यापार प्रणालीमा आएको परिवर्तन र विश्वव्यापी आर्थिक अनिश्चितताबीच एपेक सम्मेलनको महत्त्वमा जोड दिए ।
सहयोग र एकता नै राम्रो भविष्यतर्फको सबैभन्दा निश्चित बाटो भएको लीले आफ्नो उद्घाटन सम्बोधनमा बताए । आफूहरू तीव्र रूपान्तरण हुँदै गरेको अन्तर्राष्ट्रिय व्यवस्थाको निर्णायक मोडमा उभिएको उनको भनाइ छ ।
कृत्रिम बुद्धिमत्ता (एआई) द्वारा निर्देशित प्रविधिक क्रान्तिले अभूतपूर्व संकट र अवसर दुवै प्रस्तुत गरेको उनीले थपे ।
चीनका राष्ट्रपति सी जिनपिङले बैठकमा सम्बोधन गर्दै सबैका लागि समावेशी र खुला एसिया–प्रशान्त अर्थतन्त्र निर्माण गर्ने पाँच प्रस्तावहरू अघि सारेको चीनको परराष्ट्र मन्त्रालयले आफ्नो वेबसाइटमा जनाएको छ ।
उनले विश्व व्यापार संगठनलाई केन्द्रमा राखेर बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्न, क्षेत्रमा खुला आर्थिक वातावरण निर्माण गर्न र औद्योगिक तथा आपूर्ति शृंखलाको स्थिरता र सुचारु प्रवाह कायम राख्न संयुक्त प्रयासको आह्वान गरे ।
शुक्रबारको बैठक अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको अनुपस्थितिमा सम्पन्न भएको हो । ट्रम्प अघिल्लो दिन व्यावसायिक मञ्चमा सहभागी हुँदै ली तथा सीसँग वार्ता गरेर अमेरिका प्रस्थान गरेका थिए ।
यस बैठकले जापानकी प्रधानमन्त्री सानाए ताकाइची लगायत २१ सदस्यीय अर्थतन्त्रका नेता र धेरै अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूलाई एकै मञ्चमा ल्याएको हो ।
दक्षिण कोरियाले यस वर्षको एपेक आयोजकका रूपमा सबै सदस्यहरूले समर्थन गर्ने ग्याङ्जु घोषणा प्रकाशन गर्न खोज्दैछ । एआई र जनसांख्यिकीय परिवर्तनका एजेन्डालाई उसले घोषणामा पार्न खोजेको छ ।
अन्तर्राष्ट्रिय व्यापारको भविष्यको दिशामा नेताहरू कति र कस्तो हदसम्म सहमतिमा पुग्छन् भन्ने विषयमा सबैको ध्यान केन्द्रित छ । विश्व व्यापार संगठन प्रणालीमा आधारित बहुपक्षीय स्वतन्त्र व्यापार व्यवस्थाबारे देशहरूको फरक दृष्टिकोण छ ।
हालका वर्षहरूमा एपेकका धेरैजसो अर्थतन्त्रहरूले विश्व व्यापार संगठन प्रणालीमा आधारित स्वतन्त्र व्यापारलाई समर्थन गर्दै आएका छन् र बहुपक्षीयताको प्रतिबद्धता दोहोर्याएका छन् ।
सन् २०२१ देखि २०२४ सम्म सबै एपेक शिखर घोषणाहरूमा विश्व व्यापार संगठनलाई केन्द्रमा राखिएको नियममा आधारित बहुपक्षीय व्यापार प्रणाली भन्ने वाक्यांश समावेश गरिएको छ । यो वाक्यांश पहिलोपटक सन् २०२१ को घोषणामा आएको थियो ।
त्यतिखेर ट्रम्पको पहिलो कार्यकाल भर्खर समाप्त भएको थियो ।
घोषणा सर्वसम्मतिले मात्र पारित गर्न सकिन्छ । त्यसा हरेक एपेक सदस्यको समर्थन आवश्यक हुन्छ ।








प्रतिक्रिया