
काठमाडौं । आन्तरिक उडानको अब्बल वायुसेवा कम्पनी बुध्द एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतसहितको टिमले नयाँ दल दर्ता गरेको छ ।
बस्नेतसहित समाजशास्त्री दिनेश प्रसाईं, पियुषप्रसाद कायस्थसहितले ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका छन् ।
निर्वाचन आयोगमा बिहीबार दर्ता भएको गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्षमा प्रसाईं ,महासचिव कायस्थ छन् भने बस्नेत सदस्य छन् ।
पार्टीको विधानमा पदाधिकारीहरु चुनाव नलड्ने व्यवस्था गरिएको छ । पदाधिकारी बाहेकका सदस्यले भने चुनाव लड्न पाउने छन् । नयाँ पार्टीमा सदस्य बनेसँगै बस्नेतले चुनाव लड्न सक्ने छन् । बस्नेत लगायतको ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा ५१७ नम्बरमा दर्ता भएको छ ।

पार्टीको दस्तावेजमा के छ ?
गतिशील लोकतान्त्रिक पार्टी सुधार, सुशासन र आर्थिक उत्थानमा केन्द्रित नयाँ राजनीतिक विकल्प भएको दाबी गरिएको छ ।
गतिशील लोकतान्त्रिक पार्टीको ‘हामी किन र हाम्रो प्रतिबद्धता’ शीर्षकको दस्तावेजमा पार्टीले आफूलाई सुधारवादी, पारदर्शी र जनमुखी शक्तिका रूपमा परिभाषित गरेको छ ।
दस्तावेजका अनुसार, गतिशील लोकतान्त्रिक पार्टी नेपालको राजनीतिक, सामाजिक र आर्थिक संरचनामा देखिएका कमजोरीलाई सम्बोधन गर्दै नयाँ पुस्ताको सोच र कार्यकुशल नेतृत्वका माध्यमबाट वैकल्पिक शक्ति बन्ने लक्ष्यसहित अघि बढ्ने जनाइएको छ ।
गतिशील लोकतान्त्रिक पार्टीले आफूलाई लोकतान्त्रिक मूल्यमा आधारित, परिणाममुखी र सुशासनमुखी पार्टीका रूपमा अघि बढाउने बताएको छ । दस्तावेजमा भनिएको छ,’राजनीति सेवा हो, सत्ताको माध्यम होइन।’
पार्टीका अनुसार राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायित्व कायम गर्नु नै यसको मूल नीति हो । पार्टीले स्थानीय तहदेखि संघीय स्तरसम्म योग्यता, इमानदारी र कार्यक्षमताका आधारमा नेतृत्व छनोट गर्ने प्रावधान राखेको जनाएको छ।
संगठनभित्र एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्था गरिएको छ, जसले नयाँ नेतृत्व विकास र आन्तरिक लोकतन्त्र बलियो बनाउने अपेक्षा गरिएको छ ।
गतिशील लोकतान्त्रिक पार्टीले सहभागितालाई खुला राख्दै, योग्यता र सोचका आधारमा सबै नागरिकलाई स्वागत गर्ने जनाएको छ ।
देशभित्रै रोजगारी र अवसर खोजिरहेका युवा, निर्णय प्रक्रियामा समान स्थान चाहने महिलासहित दलित, जनजाति, मधेसी, थारू, मुस्लिम र सीमान्तकृत समुदाय, साथै व्यवसायी, शिक्षक, स्वास्थ्यकर्मी, प्रविधिज्ञ र वैचारिक रूपमा स्वतन्त्र नागरिकहरू सबैलाई पार्टीको अभियानमा सामेल हुन आह्वान गरिएको छ।
पार्टीले संगठनमा समानुपातिक प्रतिनिधित्व र अवसरको समान वितरण सुनिश्चित गर्ने उल्लेख गरेको छ।
गतिशील लोकतान्त्रिक पार्टीले “उत्पादन, पारदर्शिता र स्वावलम्बन”का तीन स्तम्भमा आधारित गरेको छ । दस्तावेजमा कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधिलाई आर्थिक रूपान्तरणका मुख्य आधार बनाइने उल्लेख छ।
युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न रोजगारीमुखी कार्यक्रम सञ्चालन गरिने, स्थानीय उत्पादन र उद्योगलाई कर–राहत तथा लगानी–सुरक्षाका नीतिगत व्यवस्था गरिने दस्तावेजमा उल्लेख गरिएको छ ।
शिक्षा, स्वास्थ्य, यातायात र सिँचाइमा निजी–साझेदारी मोडललाई प्राथमिकता दिइने छ भने सरकारी खर्चमा मितव्ययिता र भ्रष्टाचार नियन्त्रणलाई शून्य सहनशीलता नीति लागू गरिने उल्लेख छ ।
दस्तावेजमा गतिशील लोकतान्त्रिक पार्टीलाई ‘लोकतान्त्रिक, समावेशी र परिणाममुखी सुधारवादी शक्ति’को रूपमा परिभाषित गरिएको छ।
पार्टीको दीर्घकालीन दृष्टि राजनीतिक स्थायित्व, सामाजिक समानता र आर्थिक स्वावलम्बनसहितको समृद्ध नेपाल बनाउने रहेको उल्लेख गरिएको छ ।







प्रतिक्रिया