
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्नका लागि मंगलवार आह्वान गरेका छन् ।
गाजामा शान्तिका लागि ल्याइएको योजनाको पहिलो चरण सफल भएपछि त्यसैलाई अघि बढाउँदै युक्रेनमा पनि शान्ति ल्याउनुपर्ने जेलेन्स्कीको धारणा छ ।
सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै जेलेन्स्कीले लेखे, ‘मध्यपूर्वमा युद्ध अन्त्य हुँदै गर्दा शान्तिलाई अघि बढाउने काम नरोकिनु महत्त्वपूर्ण छ । युरोपमा चलिरहेको युद्ध पनि अन्त्य गर्न सकिन्छ र त्यसका लागि अमेरिका र अन्य साझेदारको सहयोग अपरिहार्य छ ।’
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गाजामा शान्तिबहाली गराउन सफलता पाएको कुरालाई उजागर गर्दै जेलेन्स्कीले युक्रेन युद्ध अन्त्यका लागि अमेरिकाले सहयोग गर्न सक्ने बताए ।
आइतवार जेलेन्स्कीले ट्रम्पसँग फोनमा कुराकानी गरेका थिए । उनले गाजामा शान्ति ल्याएकोमा ट्रम्पलाई बधाई दिँदै युक्रेनमा पनि रुसले गरिरहेको आक्रमण रोक्न सकिने बताए ।
रुसले युक्रेनका विभिन्न शहरमा हवाई आतंक मच्चाएको जेलेन्स्कीले आरोप लगाएका छन् ।
सोमवार राति मात्र रुसले ९६ वटा ड्रोन प्रहार गरेको र तीमध्ये अधिकांशलाई युक्रेनको प्रतिरक्षा प्रणालीले खसाएको उनले बताए । तर, कतिपय ड्रोनहरू लक्ष्यमा पुगेको जेलेन्स्कीले स्वीकार गरे ।
युक्रेनलाई पेट्रियट, नासाम्स, साम्पटी र अन्य महत्त्वपूर्ण हतियार प्रणाली आवश्यक रहेको जेलेन्स्कीले बताए । उनले अमेरिका, युरोप, जी७ तथा अन्य सहयोगीहरूलाई यी हतियार प्रणाली उपलब्ध गराउन अनुरोध गरे ।
‘संसारले मस्कोलाई वास्तविक सम्झौताका लागि वार्ताको टेबलमा आउन बाध्य बनाउनुपर्छ । शक्तिमार्फत शान्तिले नै परिणाम ल्याउँछ । हामीलाई सहयोग गर्ने सबैलाई म धन्यवाद दिन्छु,’ जेलेन्स्कीले बताए ।







प्रतिक्रिया