
काठमाडौं । शुक्रबार साँझदेखि परिरहेका अविरल वर्षाका कारण हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै देशभरका प्रमुख राजमार्गहरूमा शनिबार बिहानदेखि सवारी साधन होल्ड गर्न लागिएको छ ।
जसअनुसार काठमाडौं–नागढुङ्गा खण्डमा बिहान ७ बजेदेखि दुबै तर्फका सवारी साधन रोकिएका छन् । चन्द्रागिरिबाट नागढुङ्गा, गोदाम र टखेल हुँदै धादिङ र मकवानपुरतर्फ बाहिरिने सवारी साधनलाई अर्को आदेश नभएसम्म आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बिहान ८.३० बजेदेखि काभ्रेको धुलिखेलदेखि सिन्धुपाल्चोक सिमानासम्मको बीपी र अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ । बिपी राजमार्गको भकुण्डेबेशीतर्फ भारी वर्षा भएका कारण काठमाडौंबाट बाहिरिने सवारी साधन काभ्रेभञ्जयांग र बाहिरी जिल्लाबाट काठमाडौं आउने सवारी साधन मंगलटारमा होल्ड गरिएका छन् । साथै नेपालथोक र खुर्कोटमा सवारी साधनलाई रोकिएको छ ।
यस्तै पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा सवारीसाधन रोकिएका छन् । आज बिहानदेखि निरन्तर वर्षा भइरहेकाले प्रहरीले आँबुखैरेनीमा सवारीसाधन रोकेको हो । काठमाडौ -हेटौंडा सडक खण्डको कुलेखानीनजिकै ज्यामिरेमा ठूलो पहाड नै खसेका कारण उक्त सडक खण्डसमेत अहिले अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएपछि यात्रुहरू अलपत्र परेका छन् भने सम्बन्धित निकायहरूले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डमा पहिरोका कारण सवारी साधन अवरुद्ध भएको छ ।
रातीदेखिको बर्षासँगै अरनिको राजमार्गको धुलिखेल–खावा सडक खण्डको धुलिखेल ८ तिरतिरे धारामा सडकमाथिबाट ढुङ्गा खस्न सुरु भएकाले अरनिको राजमार्ग अवरुद्ध भएकोजिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
हुस्सु लागेको र माथिबाट ढुंगा समेत खसिरहेकोले गाडीहरू रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल धाँजुले जानकारी दिए ।
अरनिको राजमार्ग भएर चल्ने सवारीसाधनलाई धुलिखेलमा र पाँचखालमा रोकिएको प्रहरीले जनाएको छ । दोलालघाटसम्म पर्ने सो खण्डमा अविरल वर्षाका कारण पहिरो र जोखिम बढेपछि दुवैतर्फी सवारी साधन अनिश्चित समयसम्मका लागि होल्ड गरिएको हो ।
काठमाडौं जाने सवारीलाई चितवनको विभिन्न स्थानमा होल्ड
यसैगरी नारायणगढहुँदै काठमाडौं जाने सवारीसाधनलाई यहाँ रोकिएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण लोथरदेखि फिस्लिङ बजारसम्म ‘स्टपिङ प्लान’अनुसार सवारीसाधन रोकिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार धादिङको जवाङ खोलामा पहिरोका कारण सडक अवरुद्ध भएकाले काठमाडौँ जाने सवारीसाधनलाई स्थानीय प्रशासनले तोकेको स्थानमा रोकिएको हो ।
उनका अनुसार काठमााडौँ जाने सवारीसाधनलाई ट्राफिक व्यवस्थापन एवं आपतकालीन अवस्थामा सवारीसाधन रोक्ने योजनाअनुसार इच्छाकामना गाउँपालिकाको फिस्लिङ, कुरिन्टार र मुग्लिनमा, भरतपुर महानगरपालिकाको जुगेडी, रामनगर, आँपटारी, पोखरा बसपार्क, बाइपास रोड, केन्द्रीय बस टर्मिनल, गोन्द्राङ एवं पूर्वी चितवनको शान्ति चोक टाँडी, चौबिसकोठी खैरहनी, डडुवा बजार भण्डारा, लोथर बजार लोथरमा सवारी साधन रोकिएको छ ।
सवारीसाधन एकै ठाउँमा रोक्दा मानवीय आवश्यकतासम्बन्धी समस्या हुने भएकाले विभिन्न स्थानमा ‘स्टपिङ प्लान’ बनाएर सवारी साधन रोकिएको हो ।








प्रतिक्रिया