संयुक्त सैन्य अभ्यासका लागि भारतले रुसमा पठायो आफ्ना सैनिक, रिसायो पश्चिम

1.6k
Shares

एजेन्सी । रुस र बेलारुसले मिलेर गर्ने सैन्य अभ्यास जापाड–२०२५ मा भारतले पनि आफ्ना सैनिकहरू पठाएको छ ।

उक्त अभ्यासमा नेटो सैन्य गठबन्धनका सदस्यहरूसँगको सम्भावित द्वन्द्वको अभ्यास गरिने गरेको छ । भारत र अमेरिकाबीच तनाव चर्किरहेको बेलामा भारत सरकारले रुसमा सैनिक पठाएर पश्चिमलाई सन्देश दिन खोजेको बुझिन्छ ।

बेलायतबाट प्रकाशन हुने द टाइम्स पत्रिकाले रुसमा सैन्य अभ्यासका लागि आफ्ना सैनिकहरू पठाएर भारतले लक्ष्मणरेखा नाघेको टिप्प्णी गरेको छ ।

भारतको रक्षा मन्त्रालयले ६५ जना सैनिकहरूलाई रुस पठाइएको जनाएको छ । तीमध्ये कतिपय सैनिकहरू प्रतिष्ठित कुमाउँ रेजिमेन्टका हुन् ।

अहिले उनीहरू मुलिनो प्रशिक्षण क्षेत्रमा छन् । त्यो निज्नी नोभगोरोद क्षेत्रभन्दा ६५ किलोमिटर पश्चिममा पर्छ । नेटो सदस्यहरूको सीमाबाट त्यो निकै टाढा छ ।

भारत र रुसबीचको रक्षा सहकार्य बलियो बनाउन र पारस्परिक विश्वास कायम राख्न आफ्ना सैनिकहरूलाई संयुक्त सैन्य अभ्यासमा पठाएको भारतले स्पष्ट पारेको छ ।

उक्त सैन्य अभ्यासमा भारतीय सैनिकहरूले ट्याक्टिकल अभ्यासका साथै विशेष भिडन्त कला विकसित गर्ने बताइएको छ ।