
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनका राष्ट्रपति सी चिनपिङसँग शुक्रवार फोनमा कुराकानी गर्ने भएका छन् ।
युरोपमा यी दुई देशका प्रतिनिधिबीच भएको व्यापार बैठक निकै राम्रो भएको ट्रम्पको भनाइ छ ।
सामाजिक सञ्जाल ट्रुथ सोसलमा उनले उत्साहका साथ व्यापार वार्ता सफल हुन लागेको लेखेका छन् । उनले राष्ट्रपति सीसँग शुक्रवार कुरा गर्ने र दुई देशबीचको सम्बन्ध बलियो रहेको पनि उल्लेख गरे ।
टिकटकको स्वामित्वका विषयमा रहेको विवाद पनि समाधान हुने दिशामा अघि बढेको उनले संकेत गरे । देशका युवाले मन पराएको कम्पनीका विषयमा सम्झौता भएको उनले लेखे ।
सोमवार यी दुई देशबीच भएको व्यापार वार्तापछि अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्टले दुई देशबीच टिकटकका विषयमा सम्झौताका लागि फ्रेमवर्क तयार भएको बताए । यसलाई ट्रम्प र सीले फोनवार्ता मार्फत पूर्णता दिने उनको भनाइ छ ।
चीन र अमेरिकाका प्रतिनिधिहरूबीच स्पेनको राजधानी मड्रिडमा वार्ता चलेको हो । आइतवारदेखि चलेको वार्तामा दुवै देशले आर्थिक र व्यापारिक विषयमा छलफल गरेका हुन् । उनीहरू बुधवारसम्म त्यहीँ रहनेछन् ।
द्विपक्षीय सम्बन्धका दुईवटा सबभन्दा कठिन विषय भन्सार शुल्क र टिकटक हुन् । ट्रम्पले चिनियाँ वस्तुको आयातमा चर्को भन्सार शुल्क लगाउने धम्की दिइरहेका छन् भने टिकटकलाई गैरचिनियाँ कम्पनीलाई बेच्नुपर्ने नत्र अमेरिकाको प्रतिबन्ध बेहोर्नुपर्ने भनी चेतावनी दिइएको छ ।
तर, मड्रिडमा वार्ता जारी रहेको भए पनि चीनले अमेरिकाको सेमीकन्डक्टर क्षेत्रमा अनुसन्धान थालेर दुई देशबीच तनाव कायम रहेको सन्देश दिएको छ ।








प्रतिक्रिया