
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पलाई सम्बन्ध सुधारको प्रयासका लागि आभार प्रकट गरेका छन् ।
ट्रम्पले दुई देशबीच विशेष सम्बन्ध रहेको र मोदी महान् प्रधानमन्त्री भएको भनी ट्रम्पले बयान दिएपछि मोदीले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै ट्रम्पको प्रशंसा गरेका हुन् । दुई देशको साझेदारीको सकारात्मक मूल्यांकन गरेकोमा गहिरो प्रशंसा गर्दै त्यसलाई फर्काउनका लागि तत्पर रहेको मोदीले लेखेका छन् ।
भारतविरुद्ध ५० प्रतिशत भन्सार शुल्क लगाएका ट्रम्पले दुई देशबीचको तनाव घटाउनका लागि प्रयास गर्न खोजेको संकेत यसबाट पाइन्छ ।
भारत र अमेरिकाले सकारात्मक तथा अग्रगामी विस्तृत एवं विश्वव्यापी रणनीतिक साझेदारी गर्ने मोदीको भनाइ छ ।
यसअघि ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले मोदीसँग आफू जहिल्यै पनि साथी भइरहने तर उनले गरिरहेको काम आफूले मन नपराएको बताए ।
भारतसँगको सम्बन्ध सुधार्नुहुन्छ त भनी पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले भारत र अमेरिकाबीच विशेष सम्बन्ध रहेको र चिन्ता गर्नुपर्ने कारण नरहेको बताए । सम्बन्धमा कहिलेकाहीँ उतारचढाव हुने भनी उनले अहिलेको तनावलाई सामान्य बनाउने कोसिस गरे ।
भारतले रुससँग यति धेरै तेल किनेको आफूलाई चित्त नबुझेको ट्रम्पको भनाइ छ । तर, मोदीसँग आफ्नो सुमधुर सम्बन्ध रहेको उनले बताए ।
भारतमाथि २५ प्रतिशत भन्सार शुल्कका अलावा रुसी तेल किनेकोमा थप २५ प्रतिशत कर ट्रम्पले लगाएका हुन् । भारतले रुससँग तेल किनेकाले युक्रेन युद्ध गरिरहन रुसले सामर्थ्य प्राप्त गरेको ट्रम्पको भनाइ छ ।
पछिल्लो घटनाक्रममाथि टिप्पणी गर्दै भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकासँगको साझेदारीलाई प्रधानमन्त्री मोदीले उच्च महत्त्व दिएको टिप्पणी गरे । राष्ट्रपति ट्रम्पसँग मोदीको व्यक्तिगत सम्बन्ध राम्रो रहेको उनको भनाइ छ । अमेरिकासँग सम्पर्क कायम राखिरहने उनले बताए ।
ट्रम्पको पछिल्लो टिप्पणीबाट दुई देशको सम्बन्धमा सुधारको संकेत देखिएपनि परिस्थिति अझै संवेदनशील रहेको विश्लेषकहरू बताउँछन् । अमेरिकाले ट्यारिफमा छुट दिएमा मात्र ट्रम्पको कुरा पत्याउन सकिने उनीहरूको भनाइ छ ।
तर, ट्रम्पले मोदीका विषयमा सकारात्मक टिप्पणी गरेको केही घन्टाभित्रै वरिष्ठ अमेरिकी अधिकारीहरूले भारतमागि शाब्दिक आक्रमण गरेका छन् ।
भारतले एक दुई महिनाभित्र माफी माग्दै वार्ताको टेबलमा आएर व्यापार सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा आफूले गरेको वाणिज्यमन्त्री हावर्ड लुटनिकले बताए । अमेरिका संसारको सबभन्दा ठूलो उपभोक्ता भएको र उपभोक्ता जहिले पनि सही हुने उनको भनाइ थियो ।








प्रतिक्रिया