जाजरकोटमा भेटियो अनौठौ प्रकारको बिरालो

126
Shares

जाजरकोट । जाजरकोटमा एसियाली सुनौलो बिरालो फेला परेको छ।

क्यामेरा ट्र्यापबाट जिल्लाको बारेकोटमा सुनौलो बिरालो (गोल्डेन क्याट) फेला परेको हो। एसियाली सुनौलो बिरालोका ६ वटा रंग रूप हुन्छन।

सुनौलो, दालचिनी, खरानी रंग, कालो (मेलानिस्टिक), ओसेलट तथा बाक्लो गुलाबधारी प्रमाणित छन्। जसले यस बिरालोलाई विभिन्न वातावरणमा अनुकूल हुन मद्दत गर्दछ। जाजरकोटमा कालो (मेलानिस्टिक) मर्फ बिरालो भेटिएको हो।

रुफोर्ड फाउन्डेसनको आर्थिक सहयोगमा २०२४ मे २९ देखि अक्टोबर १३ सम्म जाजरकोटको बारेकोट कुशे गाउँपालिका तथा नलगाड नगरपालिकामा रेडपाण्डालक्षित गरी करिब ४० क्यामेरा ट्र्याप जडान गरिएका थिए।

ती क्यामराबाट जाजरकोटमा कैद गरिएका तस्बिरहरूमध्ये बारेकोट गाउँपालिकामा करिब १ हजार २७ ट्र्याप दिनहरूमा जम्मा ५९ हजार २ सय २८ तस्बिरहरू प्राप्त गरिए, जसमा एक मात्र तस्बिर २०२४ अगस्ट २८ मा बारेकोट गाउँपालिकाको ताम्तुबाट प्राप्त भएको हो।

ती तस्बिरहरू वर्गीकरण गर्ने क्रममा एसियाली सुनौलो बिरालो जस्तो देखिने एक तस्बिर फेला परेको थियो। गंगाराम रेग्मी र यादव घिमिरेसहितका जंगली बिरालो विशेषज्ञहरूले उक्त तस्बिर सुनौलो बिरालोकै रहेको पुष्टि गरेको अनुसन्धानकर्ता बद्री बरालले बताए। क्यामेरा ट्र्यापबाट प्राप्त सबै तस्बिरलाई व्यवस्थित रूपमा डाउनलोड गरी प्रजातिअनुसार वर्गीकरण गरिएको थियो।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) अन्तर्गतको प्रजाति संरक्षण आयोगको बिरालोको विज्ञ समूहद्वारा प्रकाशित हुने वैज्ञानिक पत्रिका क्याटन्युजले हालै जाजरकोटमा पहिलो पटक एसियाली सुनौलो बिरालो फेला परेको कुरा प्रकाशनमा ल्याएको छ।

जंगली बिरालो प्रजातिहरूको संरक्षणमा वैज्ञानिक जानकारीको आदानप्रदान गर्ने बिरालो प्रजातिहरूको नयाँ अनुसन्धान र अवलोकनहरूलाई विश्वसामु प्रस्तुत गर्ने, नीति निर्माणकर्ताहरू, अनुसन्धानकर्ताहरू र स्थानीय समुदायहरूलाई जानकारीमूलक सामग्री प्रदान गर्ने उद्देश्यका साथ यो पत्रिका सन् १९८४ देखि नियमित रूपमा प्रकाशित हुँदै आएको हो।

यो पत्रिकाले हालसम्म संसारका ४० भन्दा बढी जंगली बिरालो प्रजातिहरूको संरक्षणसम्बन्धी जानकारी, अनुसन्धान, र समाचारहरू समेटिसकेको छ।