अलैँची उत्पादन बढाउन किसानलाई सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता

98
Shares

झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अलैँचीको उत्पादकत्व वृद्धि र व्यवसाय प्रवर्द्धनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज नेपाल अलैँची व्यवसायी महासङ्घको विर्तामोडमा आयोजित पाँचौं महाधिवेशनमा उनले अलैँचीको नर्सरीदेखि बजार प्रवद्र्धनसम्म सरकारबाट सहयोग हुने बताए । उनले अलैँचीको उत्पादन र निकासी बढाउन नीतिगत रुपमा प्रदेश सरकारले निर्णय गरी स्रोतसाधान उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले साना तथा मझौला व्यवसायको प्रवर्द्धन र उद्यमशीलताको विकासका लागि स्वीस सरकारसँगको सहयोगमा प्रदेश सरकारले ‘उदय’ परियोजना सुरु गरेको बताए ।

‘रु ३० लाखदेखि तीन करोडसम्म साना तथा मझौला उद्योगमा लगानी गर्दैछौँ,’ उनले भने ।

उनले अलैँची, चिया, बाँस दुग्ध पदार्थलगायतका क्षेत्रमा उत्पादन र बजार बढाएमा कोशी प्रदेश समृद्धि यात्रामा तीव्र गतिमा अघि बढ्ने धारणा व्यक्त गरे । उनले चियाको कार्यालय काठमाडौँबाट उत्पादन क्षेत्रमा आउनुपर्ने धारणा व्यक्त गरे ।

संस्थाका अध्यक्ष निर्मला भट्टराईले वार्षिक रु सातदेखि रु १० अर्बको अलैँची निर्यात भइरहेको जानकारी दिँदै भोजपुर र सङ्खुवासभालाई समेटेर अलैँची ‘सुपरजोन’ स्थापना गर्न सरकारसँग आग्रह गरे । 

महाधिवेशनमा १६ जिल्लाका प्रतिनिधि सहभागी छन् । त्यस अवसरमा  उत्कृष्ट निर्यातकर्ता, उत्कृष्ट किसान र कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो ।