बैंकिङ प्रणालीबाट ५० अर्ब तरलता तान्दै राष्ट्र बैंक


काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । आइतबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत २१ दिनको लागि ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो।

पछिल्लो २ आर्थिक वर्षदेखि बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा राष्ट्र बैंकले नियमित जस्तो तरलता खिच्दै आएको छ । आइतबार पनि अधिक तरलता भएपछि केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट तरलता प्रशोचन गर्ने भएको हो ।

केन्द्रीय बैंकले सातामा ३ पटक बैंकहरुको लागि स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराउँदै आएको छ । ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरमा स्थायि निक्षेप सुविधा रहेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट केन्द्रिय बैंकले निक्षेप संकलन दरलाई ०.२५ प्रतिशत आधार बिन्दुले घटाएर ३.७५ प्रतिशतमा झारेको थियो ।

चालु आर्थिक वर्ष लागेपछि केन्द्रीय बैंकले ४२ खर्ब ९४ अर्ब ५० करोड रुपैयाँ बराबर तरलता प्रशोचन गरिसकेको छ ।
बैंकहरुले अधिक तरलता भएर केन्द्रीय बैंकको निक्षेप संकलन बोलकबोल र स्थायी निक्षेप सुधिवामा लगानी गरेको मौज्दात ६ खर्ब ४३ अर्ब २५ करोड रुपैयाँ छ । आइतबार थप ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।