
काठमाडौं । लगानी बोर्डले तल्लो अप्सुवा जलविद्युत परियोजनाको लागि ८ अर्ब ८४ करोड रुपैयाँबराबरको लगानी स्वीकृत गरेको छ ।
सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७५ को दफा ५ अनुसार गठित लगानी बोर्डको ६५ औं बैठकले यो लगानी स्वीकृत गरेको हो ।
तल्लो अप्सुवा जलविद्युत परियोजना ५४ मेगावाट क्षमताको हो । यस्तै बैठकले ८०० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत परियोजनाको विकास सम्झौताको मस्यौदा तयारी तथा वित्तीय ढाँचा लगायतका विषयमा विकासकर्तासँग छलफल गरी बोर्डमा प्रस्ताव पेश गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले लगानी बोर्डको कार्यालयमा आह्वान नगरिएको प्रस्तावको रुपमा प्राप्त पाँचखाल विशेष आर्थिक क्षेत्रको विकास तथा सञ्चालन सम्बन्धी परियोजना तथा काठमाडौं -हेटौंडा – वीरगञ्ज पोडवे परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन पेश गर्न र सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय भएको छ ।
बैठकले ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत परियोजनाको विद्युत प्रसारण लाइनको नयाँ रुट अलाइनमेन्टको सम्भाव्यता तथा वातावरणीय अध्ययन गर्नका लागि प्रवर्धक कम्पनी केटीसीपीएल (कर्णाली ट्रान्समिसन कम्पनी प्राइभेट लिमिटेड) लाई सहमति प्रदान गर्ने निर्णय गरेको छ ।







प्रतिक्रिया