
एजेन्सी । इन्टिग्रेटेड फूड सिक्योरिटी फेज क्लासिफिकेशन नामक संस्थाले गाजामा पूर्ण भोकमरीको स्थिति रहेको घोषणा गरेको छ ।
संयुक्त राष्ट्रसंघको समर्थन रहेको उक्त निकाय आईपीसीले विश्वभरि भोक र खाद्य सुरक्षाको निगरानी गर्ने गरेको छ । उसले गाजा क्षेत्रको भोकमरी स्तरलाई उच्चतम अर्थात् फेज ५ घोषणा गरेको हो । भोकमरी, गरिबी र मृत्युको स्थितिलाई फेज ५ भनिन्छ ।
५९ पृष्ठको प्रतिवेदनमा आईपीसीले गाजामा भइरहेको भोकमरीलाई अन्त्य गर्नका लागि तत्कालै विशाल स्तरको प्रतिकार्य आवश्यक रहेको जनाएको छ ।
इजरायलले यो प्रतिवेदन झूटो र पूर्वाग्रही रहेको आरोप लगाएको छ । आईपीसीले हमासबाट तथ्यांक लिएको इजरायलको दाबी छ ।
राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले इजरायल सरकारले चलाएको कारवाहीका कारण गाजामा भोकमरी छाएको दाबी गरे । भोकमरीका कारण भएको मृत्युलाई युद्धअपराध मान्न सकिने उनको भनाइ छ ।
बेलायत, क्यानडा, अस्ट्रेलिया र कैयौं युरोपेली मुलुकहरूले गाजामा भइरहेको युद्धका कारण मानवीय संकट अकल्पनीय स्तरमा पुगेको बताएलगत्तै आईपीसीको प्रतिवेदन सार्वजनिक भएको हो ।
हमासले बन्दी बनाएर राखेका मानिसलाई रिहा गराउने उद्देश्यका साथ इजरायलले गाजा शहरमा सैन्य आक्रमण गर्ने निर्णय लिएको छ ।







प्रतिक्रिया