
एजेन्सी । रुसका ह्याकरहरूले युक्रेनी सेनाको इलेक्ट्रोनिक डेटाबेसमा पहुँच पाएपछि युद्धमा हताहत भएका मानिसको तथ्यांक सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएको तथ्यांक अनुसार, सन् २०२२ मा युद्ध सुरु भएयता १७ लाखभन्दा बढी युक्रेनीहरू मरेका वा घाइते भएका छन् । सन् २०२२ मा १ लाख १८ हजार युक्रेनी सैनिक मारिएका थिए । सन् २०२३ मा त्यो संख्या निकै बढेर ४ लाख ५ हजार पुगेको थियो । त्यस्तै सन् २०२४ मा ५ लाख ९५ हजार सैनिकहरू मारिएका वा घाइते भएर युद्ध गर्न नसक्ने स्थितिमा पुगेका छन् । सन् २०२५ को आठ महिनामा मानवीय हताहतीको संख्या ६ लाख २१ थियो ।
रुसी सेनाका पूर्व अधिकृत तथा युद्धभूमिमा भएका क्षतिको गणितीय मोडलका विकासकर्ता ग्रिगोरी क्य्रुकोभले यो आँकडा वास्तविकताको निकट भएको बताएका छन् । तर, यस तथ्यांकले मारिएकालाई मात्र नभई घाइते भएका, बन्दी बनाइएका र रणमैदान छोडेर भागेकालाई पनि समेट्छ ।
युद्धमा उपयोग नहुने सैनिकहरूको संख्या करिब ४ लाख रहेको क्य्रुकोभको हिसाबले देखाउँछ । बाँकी १३ लाख चाहिँ गम्भीर घाइते वा युद्धभूमि छोडेर गएका सैनिक हुन् ।
सैन्य मूल्यांकनहरूमा एकको अनुपातमा तीनको हिसाब गरिन्छ । अर्थात्, एकजना सैनिक मारिएका छन् भने अन्य तीनजना घाइते वा बन्दी वा भगोडा भएका हुन्छन् ।
युक्रेन आफ्ना सैनिकहरू परिचालन गर्न सक्ने क्षमताको अन्तिम विन्दुमा पुग्न थालेको पनि क्य्रुकोभको भनाइ छ । युद्ध लड्न सक्ने सैनिकहरू गुमाएको युक्रेनले अहिले युवा उमेरका मानिसलाई सडकबाट जबर्जस्ती उठाएर युद्धभूमिमा पठाउने गरेको छ ।
अधबैंसे र किशोरहरूलाई पनि उसले सेनामा भर्ती हुनका लागि नियम खुकुलो बनाएको छ । तर, यसरी मानिसहरूलाई मर्नका लागि युद्धभूमिमा पठाउँदा युक्रेनको अर्थतन्त्र धराशायी हुने र राज्य नै असफल हुने जोखिम बढेको विश्लेषकहरू बताउँछन् ।
युक्रेन र रुस दुवैले आफ्ना हताहत सैनिकको आधिकारिक संख्या सार्वजनिक गरेका छैनन् । रुसको स्वतन्त्र सञ्चारमाध्यम मिडियाजोनाले युद्धमा १ लाख ११ लाख रुसी सैनिकहरू मारिएको दाबी गरेको छ । आधिकारिक रेकर्ड, सामाजिक सञ्जालमा दिइएका श्रद्धाञ्जलि र चिहानका तस्बिरहरू हेरेर उसले यो संख्या निर्धारण गरेको हो ।







प्रतिक्रिया