रुसका लागि लडेका उत्तर कोरियाली सैनिकलाई किम जोङ उनले गरे सम्मान

672
Shares

एजेन्सी । युक्रेनमा रुसी सैनिकहरूसँग मिलेर लडाइँ गर्ने उत्तर कोरियाली सैनिकहरूलाई किम जोङ उनले सम्मान गरेका छन् ।

ती सैनिकहरू हालै युद्धभूमिबाट उत्तर कोरिया फर्केका थिए ।

सम्मान समारोहमा बोल्दै उत्तर कोरियाका राष्ट्रपति किमले रुसको कुर्स्क क्षेत्रबाट युक्रेनी सैनिकहरूलाई हटाउनका लागि उत्तर कोरियाली सैनिकहरूले नायकको जस्तो लडाकु क्षमता देखाएको बताए ।

‘विदेशमा गएर लडेका हाम्रा सैनिकहरूले उत्तर कोरियाली सेनाको शक्ति स्थापना गरेका छन्,’ किमले बताए ।

उक्त लडाइँमा शहीद भएका उत्तर कोरियाली सैनिकहरूको सम्मानमा किमले माल्यार्पण पनि गरेका थिए । मर्ने सैनिकका परिवारजन पनि समारोहमा उपस्थित थिए । त्यस्तै रुसबाट फर्केका सैनिकहरूलाई धुन बजाएर सम्मान गरिएको थियो ।

उत्तर कोरियाले यसरी सार्वजनिक रूपमा सैनिकहरूप्रति सम्मान देखाएर रुससँगको सम्बन्ध मजबुत रहेको सन्देश दिन खोजेको छ । पोहोर साल पहिलोपटक आफ्ना सैनिकहरू रुस पठाउँदा उत्तर कोरियाले पूर्ण गोप्यता कायम गरेको थियो ।

केही दिनअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पनि रुसी सैनिकहरूसँग मिलेर लडाइँ गर्ने उत्तर कोरियाली सैनिकहरूप्रति कृतज्ञता जाहेर गरेका थिए ।

रुस र उत्तर कोरियाले हालैका दिनमा सैनिक र कूटनीतिक सम्बन्ध बढाएका छन् । उत्तर कोरियाली सैनिकले युद्धको अनुभव हासिल गरेकाले भविष्यमा दक्षिण कोरियाविरुद्ध उपयोग गर्न सकिने भनी विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन् ।

उत्तर कोरियाले सन् २०२४ मा १० हजार सैनिकहरू रुसको कुर्स्क क्षेत्रमा पठाएको दक्षिण कोरिया र पश्चिमका गुप्तचर निकायहरूले अनुमान गरेका छन् । सैनिकसँगै उत्तर कोरियाले तोपका गोला, क्षेप्यास्त्र र लामो दूरीका रकेट प्रणालीहरू पनि रुसलाई उपलब्ध गराएको थियो ।

कुर्स्कको लडाइँमा करिब ६०० जना उत्तर कोरियाली सैनिकहरूको मृत्यु भएको दक्षिण कोरियाको गुप्तचर निकायको अनुमान छ ।