राजपरिवारको अपमान मुद्दामा थाइल्यान्डका पूर्व प्रधानमन्त्रीले पाए सफाइ

147
Shares

एजेन्सी । थाइल्यान्डको एक अदालतले पूर्व प्रधानमन्त्री थाक्सिन शिनावात्रालाई राजपरिवारको अपमान गरेको मुद्दामा सफाइ दिएको छ ।

१० वर्षअघि थाक्सिनले दक्षिण कोरियाको समाचारपत्रलाई दिएको अन्तर्वार्तामा राजपरिवारको अपमान गरिएको आरोप लगाइएको थियो । उनी दोषी ठहर भएको भए १५ वर्षको कैद सजाय काट्नुपर्ने हुन्थ्यो ।

थाइल्यान्डको लेसे मजेस्टे कानूनले राजतन्त्रको अपमानमा प्रतिबन्ध लगाएको छ । तर, यस कानूनको दुरुपयोग गरेर अभियन्ता र राजनीतिक विपक्षीहरूलाई तारो बनाउने गरिएको आलोचकहरू बताउँछन् ।

थाक्सिनकी छोरी पाएतोङतार्न निलम्बित प्रधानमन्त्री हुन् । उनलाई पदमुक्त गर्ने कि नगर्ने भनी संवैधानिक अदालतले फैसला गर्न बाँकी छ ।

दशकौंदेखि थाइल्यान्डको राजनीतिमा छाएमा शिनावात्रा परिवारका लागि यी मुद्दाहरूले जोखिम तेर्स्याएका छन् ।

थाई अदालतले थाक्सिनका बारेमा गरेको फैसलाले उनीहरूको परिवार र समर्थकहरूलाई राहत दिएको छ ।

अदालतले फैसला गर्दा थाक्सिनले मुस्काएर आफ्ना वकिलहरूलाई धन्यवाद दिएको उनका वकिल विनयात चार्मोन्त्रीले बताए । अब थाक्सिनले खुलेर देशको हितमा काम गर्न सक्ने उनको भनाइ छ ।

दक्षिण कोरियाली पत्रिकासँगको अन्तर्वार्तामा थाक्सिनले सन् २०१४ मा बहिनी यिङलकको सरकारलाई अपदस्थ गर्ने गरी भएको सेनालाई कू गर्न दरबारका केही मानिसले भड्काएको बताएका थिए । थाइल्यान्डका राजालाई सल्लाह दिने १९ सदस्यीय प्रिभी काउन्सिललाई पनि उनले संकेत गरेका थिए । थाक्सिन आफैंलाई सन् २००६ मा सेनाले कू गरेर हटाएको थियो ।

लेसे मजेस्टे कानूनले प्रिभी काउन्सिललाई समेट्दैन । त्यस कानूनले राजा, रानी, युवराज वा नायबलाई गरिएको अपमानलाई मात्र समेट्छ ।

तर, विगत केही वर्षयता राजपरिवारको बारेमा नकारात्मक ठानिएका सबै किसिमका कार्य वा बयानलाई यस कानूनले समेट्ने गरेको छ ।