
काठमाडौं । सहरी यातायातमा ठूला विद्युतीय बसबाट सेवा दिनमा बलियो उपस्थिति बनाउन साझा सफल भएको छ ।
सार्वजनिक यातायातलाई विद्युतीयबाट सेवा दिने र सहरमा ठूला सवारी दौडाउने योजना अनुसार हाल ४० वटा गाडी सरकारले साझा यातायातमार्फत सञ्चालन गरिरहेको छ ।
हाल काठमाडौं उपत्यकाका विभिन्न ८ वटा रुटमा १११ वटा ठूला सार्वजनिक यातायात सञ्चालन गर्न सफल साझाले आगामी दशैं लक्षित नयाँ योजना बनाएको छ । यसमध्ये हाल ७१ वटा डिजेल र ४० वटा विद्युतीय बस साझासँग छ । साझाले दशैंको लागि थप बिजुली बस भित्र्याउने गरी योजना बनाइरहेको छ । सोही अनुसार तयारी भएको जानकारी दिएको छ।
साझाले थप १०० वटा विद्युतीय बस एकैपटक थप गर्दै छ । सरकारको ९९ प्रतिशत लगानी रहेको साझा यातायातको लागि एक सयवटा विद्युतीय बस उपलब्ध गराउने भनेर चालु आर्थिक वर्ष २०८२/८३ कै बजेट भाषणमै सम्बोधन भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले गत जेठ १५ गते सार्वजनिक गरेको बजेट बक्तव्यको २६६ नम्बर बुँदामा काठमामाडौं उपत्यकाको यातायात व्यवस्थालाई वातावरणमैत्री बनाउन साझा यातायातलाई थप १०० विद्युतीय बस उपलब्ध गराउने घोषणा गरेको छन् ।
सरकारी योजना अनुसार नै साझाले चालु आवमै ती सवारी भित्र्याएर सेवा दिने गरी कार्ययोजना बनाएको जानकारी दिएको छ
साझा यातायातका यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेयका अनुसार सरकारी योजना अनुसार नै आम नेपालीलाई सेवा दिन विद्युतीय सवारी थप हुँदै छ । ‘यसै वर्ष साझाले १४० वटा विद्युतीय बस सञ्चालन गर्ने भएको छ । थप भएका विजुली बस सबै काठमाडौंमा नै चल्ने छन् । साझाले ८ वटा रुटमा सेवा दिइरहेको छ । यसका रुट लामो भएकोले उपत्यका धेरै ठाउँमा साझा यातायात देखिइरहने गरेको छ ।’
साझा यातायात सेवामूलक भएकोले यसले विहान साढे ५ देखि रात्री ९/१० वजेसम्म सञ्चालन गर्छ । यसअघि रात्रीबस सञ्चालन गरेको भए पनि पूर्वाधारसहित विविध कारणले रोकिएको सेवा फेरि सुरुवात गर्ने र निरन्तरता दिने योजना पनि बनाएको साझा यातायातको भनाइ छ ।
साझा यातायातले हाल अपाङ्ग र ७० वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क सेवा दिइहेको छ भने विद्यार्थी परिचपत्र देखाएर यात्रा गर्नेको हकमा जुनसुकै रुटमा पनि १५ रुपैयाँमै सेवा दिइरहेको छ । सार्वजनिक सवारीमा टिकेट लिएर यात्रा गराउने काम साझाले मात्रै गर्दै आएको छ ।
जीपीएस ट्रयाकिङ, एनाउन्समेन्ट सिस्टम, वाईफाई सहितको सुविधा दिएर यसले सेवा दिइरहेको छ । इपेमेन्ट गरेर यात्रा गराउने विषयमा पनि यसले आवश्यक तयारी गरिरहेको छ । यसले सार्वजनिक यातायात थप व्यवस्थित बनाउने काम गर्ने पनि साझाका महाप्रवन्धक पाण्डेयले बताए ।
चिनियाँ कम्पनीबाट साना विद्युतीय सवारी गाडी भित्र्याउनेमा नर्वे, सिंगापुर र इथियोपियापछि नेपाल पर्न थालेको छ । बिक्रीपछिको सेवामा भने सवारी धनीहरुले हैरानी पाउँदै आएको बताउने गरेका छन् । विद्युतीय सवारी मर्मतका लागि दक्ष जनशक्तिको अभावले यस्तो समस्या सिर्जना भएको हो।
विद्युतीय सवारी मर्मतमा दक्ष प्राविधिक उत्पादन गर्ने र त्यसलाई नेपालमै रोजगारी दिने उद्देश्यले चिनियाँ सरकारी कम्पनी क्याम्रासँग सहकार्य गर्ने विषयमा मदनभण्डारी मेमोरियल कलेजले सम्झौतासमेत गरेको छ ।
मदन भण्डारीले साझा यातायातसँग पनि सहकार्य गरेर दक्ष प्राविधिकको प्रयोग गर्ने भएको छ । मदन भण्डारी मेमोरियल कलेजका अध्यक्ष भेषबहादुर पाण्डेले क्लिकमान्डुसँग भने, ‘नेपालमा त्यसरी तालिम दिएका जनशक्तिको प्रभावकारिता हेरेर थप जनशक्ति तयार पारिने सहितको उद्देश्य हामीले लिएका छौं ।’
साझा यातायातसँग यसै वर्ष १४० वटा विद्युतीय बस हुँदै छन् । उनीहरुसँग पनि मर्मत गर्ने प्राविधिक जनशक्ति नभएकोले मदन भण्डारी मेमोरियल कलेजले उत्पादन गरेका जनशक्तिलाई प्रयोग गर्ने विषयमा समझदारी गरिएको पाण्डेले बताए । आफूहरुद्ये दिएको तालिमपछि उत्पादन हुने जनशक्ति प्रयोगका लागि वर्कसप स्थापना गर्ने र त्यसैबाट साझाले पनि सेवा लिने विषयमा समझारी भएको उनको भनाइ छ ।
मदन भण्डारी कलेजले शिक्षा मन्त्रालयबाट अनुमति लिएर सीटीभइभीटीबाट मान्यताप्राप्त करिकुलम अनुसार नियमित कोर्ष नै सञ्चालन गर्न खोजेको छ । किताव पढाएर सैद्धान्तिक ज्ञानले मात्रै प्राविधिक काम पूर्ण नहुने भएकोले वर्कसपमै काम गराउने र प्राविधिक रुपमा पूर्ण जनशक्ति तयार पार्न खोजिएको पाण्डेको भनाइ छ ।
यसअघि साझाले डिजेलबाट चल्ने एउटा सवारीलाई विद्युतीय बनाएको थियो । नेपालमा कानूनको अभावमा त्यो सवारीलाई सडकमा निकाल्न पाएको छैन । साझाले एउटा डिजेलबाट विद्युतीयमा परिणत गरेको सवारीको अभ्यास गर्न नपाएकोले यसको थप योजना रोकिएको छ । विद्युतीय सवारीबाट डिजेलको तुलनामा लाभ बढी हुने र सञ्चालन खर्चसमेत न्यून भए पुग्ने भएकोले साझाले गरेको प्रयास व्यवहारिक रुपमा अभ्यास हुन भने नपाएको गुनासो गरेको छ ।

नेपालकै पहिलो सार्वजनिक ईभी सुन्दर यातायातले आफ्नै उत्पादनका बिजुली गाडी ल्याउने
नेपालमा पहिलोपटक सार्वजनिक सवारीमा ईभीको सुरुवात गरेको सुन्दर यातायातले आफ्नै उत्पादनमा ईभी ल्याउँदै छ । सुन्दर यातायातले आगामी भदौको १५ देखि २० सम्ममा ६ र १४ सिट क्षमताको साना विजुली गाडी ल्याउने भएको छ । सार्वजनिक सेवा दिने गरी ल्याउन लागेका यी सवारी यात्रुको सुविधाका लागि विभिन्न रुटमा चलाउने योजनासहित आउन लागिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।
उनले भने ‘सुन्दर यातायातले सुन्दर अटो इन्जिनियरिङ’मार्फत उत्पादन भएका बिजुली गाडी सञ्चालन गर्ने भएको छ । सुन्दर अटो इन्जिनियरिङले हाल दुइपाङ्ग्रे सवारी ‘गन्तव्य’को उत्पादन गरेर बजारमा सञ्चालन गरिरहेको छ । यसले हाल तराईका क्षेत्रमा दुईपाङ्ग्रे ईभी सञ्चालन गरिरहेको छ ।
सुन्दर यातायातले सन् २०१७ देखि नै ईभी ल्याएर काठमाडौं र बाहिर सञ्चालन गरिरहेको छ । यसले ४ वटा ठूला विजुली गाडी काठमाडौं र भक्तपुरमा सुञ्चालन गरेको छ भने बाँकी काठमाडौं बाहिर सञ्चालन गरिरहेको ।
यसले ४० सिटर, २० सिटर, १५ सिटर, ६ सिटरका गाडी सञ्चालन गरिरहेको छ । यसले काठमाडौं बाहिर काठमाडौंबाट सिन्धुली रामेछाप, बुटवल–भैरहवा–सुनौलीसहितका गन्तव्यमा विद्युतीय सवारी सञ्चालन गरिरहेको छ ।

महानगरले सुरु गर्यो १२ वटा ईभीबाट सेवा
विगत नौ वर्षदेखि ठूला सार्वजनिक यातायात सञ्चालन गरिरहेको महानगर यातायात विद्युतीय सवारीमा प्रवेश गरेको छ । चक्रपथ परिक्रममा गर्ने रुटमा यातायात सेवा दिइरहेको महानगरले ८८ वटा डिजेल यातायात सञ्चालन गरिसकेपछि ईभीको आवश्यकता देख्यो ।
सरकारको कर नीति, ईभी प्रवद्र्धनको योजना र दीर्घकालीन लाभका दृष्टिले १२ वटा ठूला ईभी बस सञ्चालनको सुरुवात गरिएको महानगर यातायातका एक सञ्चालक धर्म रिमालले बताए । उनले भने, ‘महानगरले ठूला ईभी ल्याएको ३ महिना भएपनि साउन १ देखि मात्रै सञ्चालनको सुरुवात गरेको छ ।’
यसका ईभी गाडीले अरु माहानगरका गाडी झै चक्रपथ नै परिक्रमा गर्ने छन् । महानगरले काठमाडौं बाहिर सेवा दिने गरी रणनीति पनि बनाएको छ । ठूला ईभीबाट काठमाडौं बाहिर लामो दूरीमा सेवा दिने तयारी गरिरहेको भए पनि तत्काल भने साना सवारीको सुरुवात गर्ने विषयमा तयारी गरिहेको जानकारी दिएको छ ।
मूल्यका हिसावले डिजेलको तुलनामा दोब्बर नै महंगो पर्ने भए पनि इन्धनको मूल्य बचत हुने भएको र चिनियाँ कम्पनी सेरीवान्डाबाट गाडी भित्र्याएर सेवा दिन थालिएको पनि रिमालको भनाइ छ ।
महागरले ईभी माइक्रो चलाउने तयारी
महानगर यातायात पहिलोपटक साना ईभीमा जाने तयारी गर्दै छ । काठमाडौं बाहिर सेवा दिन पोखरासम्मको लागि १६ सिट क्षमताको विद्युतीय माइक्रो ल्याउने विषयमा आवश्यक तयारी भइरहेको छ ।
महानगरले आगामी दशैंलाई योजना बनाएर अगाडि बढेको भएपनि कहिलेबाट सञ्चालन गर्ने भन्ने विषयमा निर्णय भने गरिसकेको छैन् । तर यसले ३० वटा माइक्रो ल्याएर सञ्चालन गर्ने तयारी गरिरहेकोले आवश्यक छलफल भइरहेको पनि रिमालले क्लिकमान्डुलाई जानकारी दिए ।
पछिल्लो समय ठूला सार्वजनिक यातायात सञ्चालन गरेर छुट्टै छवि बनाएको मयुर यातायात प्रालिले पनि ईभीमा जाने तयारी गरेको छ । यसका लागि मयुर यातायातका अध्यक्ष मोहन श्रेष्ठले उपयुक्त कम्पनी र सवारीको छनोटको योजना बनाउन थालेका छन् ।
नेपालमा सबैभन्दा पहिला सुन्दर यातायातले विद्युतीय सार्वजनिक सवारी साधन भित्र्याएको थियो ।







प्रतिक्रिया