
भैरहवा । कारागार कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवी लामिछानेलाई कुनैपनि सुविधामा विभेद नगरिएको जनाएको छ ।
कारागार प्रशासक सुरेश भण्डारीले शुक्रबार कारागार कार्यालयको विषयमा विभिन्न मिडियामा प्रकाशित समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाउँदै समाचारमा प्रकाशित तस्विरअनुसार कारागारभित्र रहेको भवनको नभएको र समाचारमा उल्लेख भएजस्तो अवस्था नरहेको जनाएका छन् ।
‘सहकारी ठगी सम्बन्धी मुद्दामा थुनुवाको रूपमा विगत चार महिनादेखि पूर्व उपप्रधानमन्त्री तया हाल निलम्बनमा रहनुभएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने यस कारागारमा रहनु भएको छ। उहाँको सुरक्षालाई ध्यानमा राखि कारागार प्रशासनले एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाइएको छ’, उनले भनेका छन्, ‘कारागार प्रशासनले समय समयमा उहाँलाई भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधानसमेत गर्ने गरेको छ। अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरीकन उहाँलाई पनि यस कार्यालयले सेवा सुविधा उपलब्ध गराउँदै आएको छ। उहाँले चाहेको खण्डमा मात्र बाहिरवाट आउने व्यक्तिले भेट्न पाउने तथा सञ्चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको छ।’
चैत २५ देखि सहकारी ठगी मुद्दामा रुपन्देही कारागारमा रहेका रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई राखेको विषयमा विभिन्न मिडियामा फरक फरक समाचार आएपछि कारागार प्रशासनले यस्तो प्रष्टिकरण दिएको हो ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षाका दृष्टिले संवेदनशील क्षेत्र भएकोले कारागारसँग सम्बन्धित समाचार प्रकाशन, प्रसारण गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुने गरी चित्र तथा सामग्री नराखिदिनुहुन र कार्यालयसँग आधिकारिक सूचना लिइ सत्यतथ्य समाचारहरू मात्र प्रकाशन, प्रसारण गरिदिनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’







प्रतिक्रिया