गाजामा पूर्ण कब्जा गर्ने नेतान्याहुको योजना, के हुनेछ सेनाको कदम ?

224
Shares

एजेन्सी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा इजरायली सैनिकको कारवाहीको दायरा बढाउने घोषणा गरेका छन् ।

वरिष्ठ सैन्य अधिकृतहरूले आपत्ति उठाएको भए पनि नेतान्याहुले यो घोषणा गरेका हुन् ।

नेतान्याहुको योजनामुताबिक पाँच महिनाभित्रमा जापट्टिको अधिकांश भागमा कब्जा गरिनेछ । त्यसक्रममा करिब १० लाख प्यालेस्टाइनीहरूलाई विस्थापित गरिनेछ ।

प्यालेस्टाइनी समूह हमासको पूर्ण पराजय हासिल गर्नका लागि इजरायलले सैन्य कारवाही जारी राख्नुपर्ने नेतान्याहुको भनाइ छ । गाजामा बन्दी बनाएर राखिएका इजरायलीहरूलाई मुक्त गर्नका लागि हमासको पराजय आवश्यक रहेको उनको भनाइ छ ।

बुधवार इजरायली सेनाले गाजाका विभिन्न भागमा जबर्जस्ती विस्थापनको नयाँ आदेश जारी गरेको छ । नेतान्याहु सरकारले यसै साताबाट प्यालेस्टाइनी भूमिमा पूर्ण नियन्त्रणका लागि काम थाल्ने बताइएको छ ।

इजरायली सेनाका प्रवक्ताले सैन्य कारवाहीको दायरा बढाउने तयारीका रूपमा पैदल सेनाले तयारी गरिरहेको बताएका छन् ।
बन्दीहरूलाई राखिएको हुन सक्ने विश्वास गरिएको घना बस्ती भएको स्थानमा सैन्य कारवाही चर्काइने सम्भावना रहेको इजरायली सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।

इजरायलले गाजा शहरलाई पहिला कब्जा गर्ने र त्यसपछि अमेरिकासँगको समन्वयमा सहायता वितरण केन्द्रहरू बढाउने सोच बनाएको बताइन्छ । गाजापट्टिमा हमासका सबै अवशेषलाई ध्वस्त पार्ने र उससँग रहेका ५० जना बन्दीहरू छुटाउनका लागि दबाब दिने इजरायलको लक्ष्य हो ।

इजरायली सेनाले गाजाको मध्यभागमा रहेका शिविरहरूमा कारवाही थालेर आधा जति प्यालेस्टाइनीहरूलाई मावासी मानवीय क्षेत्रमा पठाउने बताइएको छ ।

यस योजनाको पहिलो चरणमा इजरायलले गाजा शहरका करिब १० लाख निवासीहरूलाई ठाउँ खाली गर्ने सूचना दिनेछ । त्यो भनेको गाजापट्टिको करिब आधा जनसंख्या हो । उनीहरूलाई मध्य गाजामा नागरिक पूर्वाधार बनाउनका लागि समय दिने बताइएको छ ।

यस योजनाको अर्को चरणमा इजरायलले उक्त क्षेत्रमा सैन्य आक्रमण थाल्नेछ । त्यस अवधिमा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले मानवीय सहायताको गति बढाउने घोषणा गर्नेछन् ।

चारदेखि पाँच महिनाको बीचमा सहायता केन्द्रहरू बढाइनेछ । त्यसका लागि अमेरिका र अन्य मुलुकहरूले करिब १ अर्ब डलर लगानी गर्नेछन् ।

मध्य गाजामा रहेका शिविरमा इजरायली सेनाले अहिलेसम्म कारवाही चलाएको छैन । त्यसपछि गाजा शहरमा पनि कारवाही बढाइनेछ । त्यहाँ नै बन्दीहरू राखिएको विश्वास गरिन्छ । इजरायलले बन्दीहरूलाई कुनै क्षति नपुग्ने गरी कारवाही अघि बढाउन खोजेको छ ।

मध्यस्थकर्ता इजिप्ट र कतारले इजरायललाई अमेरिकामार्फत यो योजना कार्यान्वयन नगर्न दबाब दिइरहेका छन् । उनीहरूले हमासलाई पनि सम्झौताका लागि दबाब दिइरहेका छन् ।

इजरायल–हमास युद्ध २३औं महिनामा पुग्दा इजरायलको नयाँ योजनाका विषयमा सेना र नेतान्याहु सरकारबीच दरार आएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार, जीवित रहेको विश्वास गरिएका २० जना बन्दीको जीवन खतरामा पर्न सक्ने चिन्ता सेनाले गरेको छ ।

राजनीतिक नेतृत्वसँग रणनीतिक स्पष्टता नरहेको भन्दै सेनाप्रमुख इयाल जामिरले बताएको भनी इजरायल आर्मी रेडियोले खबर दिएको छ । हमासका लडाकूहरूसँग लामो समय युद्ध गरिरहनुपर्ने भनी सेनाले चिन्ता लिएको छ ।

मंगलवार नेतान्याहुले सुरक्षा प्रमुखहरूसँग तीन घन्टाको बैठक गरी युद्धलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।

उक्त बैठकमा जामिरले गाजाको पूर्ण कब्जा गर्नु पासोमा फसे जस्तो भएको चेतावनी दिएका थिए । पूर्ण कब्जा भन्दा पनि हमास लडाकुहरू लुकेर बसेको हुन सक्ने केही विशेष क्षेत्रलाई घेराबन्दी गर्नुपर्ने जामिरको भनाइ छ ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले उपयुक्त मञ्चमा आफ्नो धारणा राख्ने कर्तव्य सेनाप्रमुखको भएको बताउँदै सरकारको सबै निर्णय मान्न सेना बाध्य भएको बताएका छन् ।